दृष्टिविहीन युवाको लोभलाग्दो सफलता: ७७२.८ करोडको कम्पनी, छिट्टै आइपीओ आउँदै



एजेन्सी । शारीरिक रुपमा अपांग व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोण अझै पनि राम्रो छैन । उनीहरुले काम गर्न सक्दैनन्, आफ्नो जीवन समेत सम्हाल्न सक्दैनन् भनेर हेला होचो गर्ने प्रवृत्ति कायमै छ । सकेसम्म अपांगता भएका व्यक्तिलाई अवसर दिन कन्जुस्याई गर्ने गलत सोच अझै पनि छ ।

मानिसहरुले सहजै रुपमा अपांगता भएका व्यक्तिलाई स्वीकार गर्दैनन् । कतिपयले त पूर्वजन्मको फल भन्दै असाध्यै तल्लो स्तरमा गिरेर व्यवहार गर्ने प्रचलन छ । तर अपांगता भएका व्यक्तिले समाजमा राम्रो काम गरेको र सफलताको शिखरमा पुगेको कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।

अवसर पाएमा वा सामाजिक रुपमा वा घर परिवारबाट साथ सहयोग पाएमा अपांगता भएका व्यक्तिले पनि समाजमा उल्लेख्य मात्रामा प्रगति गर्न सक्छन् भन्ने तथ्यलाई यहाँ नजरअन्दाज गर्न सकिदैन । यसै सन्दर्भमा बीबीसी हिन्दीले एउटा लामो आलेख प्रकाशित गरेको छ । नेपालमा पाठकलाई पनि यो सामग्री महत्वपूर्ण हुने ठानेर हामीले प्रस्तुत गरेका छौ ।

भारतीय नागरिक श्रीकान्त बोल्ला आफैमा दृष्टिहविहीन छन् । तर एउटा यस्तो कम्पनी छ उनैले चलाएको । सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् उनी । उनले नै सो कम्पनीलाई अर्बौंको कम्पनी बनाएका छन् र समाजमा उदाहरण प्रस्तुत गरेका छन् । विश्व समूदायका लागि प्रेरणाको स्रोत बनेका छन् ।

श्रीकान्त बोल्लाको जीवनीमा छिट्टै नै भारतीय चलचित्र निर्माताले समेत फिल्म बनाउने भएका छन् । ती युवा सीईओले ४८ मिलियन पाउण्ड अर्थात् करिब ७७२.८ करोड रुपैयाँ बराबरको कम्पनी बनाएका छन् । यो काम त्यति सजिलो भने थिएन ।

किशोरावस्थामा, श्रीकान्तलाई भनियो कि तिमीले हाई स्कूलमा गणित र विज्ञान पढ्न सक्दैनौ, किनकी तिमी दृष्टिविहिन छौ । त्यसपछि श्रीकान्तलाई यो कुराले असाध्यै पीडा दियो । विषय अदालतमा समेत पग्यो । फैसला उनको पक्षमा नै आयो ।

भारतको ग्रामीण भेगमा बस्ने श्रीकान्त ६ वर्षका हुँदा लगातार दुई वर्षसम्म हरेक दिन केही किलोमिटर पैदल हिँडेर विद्यालय पुग्थे । आफ्ना सहपाठी र भाइको सहयोगमा श्रीकान्त दैनिक यो यात्रा गर्थे ।

विद्यालय जाने बाटो हिलाम्मे थियो । दुवैतिर झाडीले घेरिएको थियो र बर्खामा बाढी आएको बेला अवस्था झनै बिग्रिन्थ्यो ।

श्रीकान्त भन्छन्, ‘म देख्न नसक्ने भएकाले मसँग कसैले पनि कुरा गर्दैन थिए ।’

गरिब, अशिक्षित परिवारमा जन्मेका श्रीकान्तलाई उनको समूदायले पनि बहिष्कार गरेको थियो । अपहेलनामा राखेको थियो ।

उनी भन्छन्, ‘मेरो घरमा कुकुर पसे पनि देख्न नसक्ने भएकाले घरको सुरक्षा गर्न सक्दैन भनी मेरा अभिभावकलाई गाँउलेले भनेका थिए । मलाई मारिदिन पनि गाँउलेले मेरा बाबुआमालाई भनेका थिए ।’

आफ्नो नराम्रो अनुभवलाई सम्झँदै ३१ वर्षीय श्रीकान्त भन्छन्, ‘धेरै मानिसहरू मेरा आमाबुवा कहाँ आएर सिरानीले थिचेर मलाई मार्ने सल्लाह दिन्थे ।’

मानिसहरूको कुरालाई बेवास्ता गर्दै, श्रीकान्तका आमाबाबुले सँधै आफ्नो बच्चालाई माया गरे, समर्थन गरे । जब उनी आठ वर्षको भए, श्रीकान्तका बुबाले भने, ‘छोरा तिम्रा लागि राम्रो खबर छ ।’

श्रीकान्त दृष्टिविहीनहरूको लागि खोलिएको बोर्डिङ स्कूलमा भर्ना भए ।

त्यसका लागि उनलाई आफ्नो घरबाट करिब ४०० किलोमिटर टाढा रहेको हैदराबाद सहर जानुपर्ने भयो । त्यतिबेला यो सहर आन्ध्र प्रदेशमा थियो ।

आफ्ना आमाबाबुबाट टाढा भए पनि, श्रीकान्त चाँडै नयाँ परिवेशमा अभ्यस्त भए । त्यहाँ उनले पौडी खेले, चेस खेले र क्रिकेटमा पनि हात हाले ।

क्रिकेट एउटा बलबाट खेलिन्थ्यो जसको बलको आवाज फरक थियो, जसले गर्दा दृष्टिबिहिनले पनि बलको दिशा पत्ता लगाउन सक्थ्यो ।

उनले भने, ‘सबै काम हात र कानले गर्ने हो, जे गर्नुपर्ने हो गरियो ।’

श्रीकान्त त्यहाँ आफ्नो सोख पछ्याउँदै थिए तर साथसाथै उनी आफ्नो भविष्यको बारेमा पनि उत्तिकै सचेत थिए । उनी सधैं इन्जिनियर बन्ने सपना देख्थे । उनलाई थाहा थियो कि यसका लागि विज्ञान र गणित विषय पढ्न आवश्यक छ ।

जब समय आयो, श्रीकान्तले यी कठिन विषयहरू छनोट गरे तर स्कूलले यसलाई अस्वीकार गरिदियो ।

श्रीकान्तको स्कूल आन्ध्र प्रदेश शिक्षा बोर्ड अन्तर्गत थियो र त्यहाँ एक दृष्टिविहीन व्यक्तिलाई विज्ञान र गणित पढ्न अनुमति दिइएन ।

दृष्टिविहीनहरूका लागि ग्राफ र रेखाचित्र जस्ता चीजहरूलाई चुनौतीपूर्ण मानिने भएकाले यो नियम लागू गरिएको दाबी गरियो । र भनियो, ‘बरु त्यस्ता विद्यार्थीहरूले कला, भाषा, साहित्य र सामाजिक विज्ञान पढ्न पाउँछन् ।’

विद्यालयको नियम थाहा पाएर असाध्यै दुःखी बनेका उनी स्थानीय उच्च अदालतमा रिट लिएर पुगे ।

यो नियमबाट श्रीकान्त दिक्क भएका थिए । श्रीकान्तका एक शिक्षक पनि यस नियमबाट असन्तुष्ट थिए र आफ्ना विद्यार्थीलाई यसविरुद्ध केही गर्न प्रोत्साहित गरे ।

दुबै आन्ध्र प्रदेश माध्यमिक शिक्षा बोर्डमा आफ्नो मुद्दाको जानकारी गराउन पुगे, त्यहाँ पनि भनियो, ‘उसले केही गर्न सकिदैन ।’

बिना डर अघि बढ्दै गए उनीहरु । शिक्षक र विद्यार्थीको यो जोडीले एक वकिल भेटे । त्यसपछि, विद्यालय व्यवस्थापन टोलीको सहयोगमा, दुबैले आन्ध्र प्रदेशको उच्च अदालतमा मुद्दा दायर गरे । त्यसमा दृष्टिविहीन विद्यार्थीलाई गणित र विज्ञान पढ्न अनुमति दिन शिक्षा कानूनमा परिवर्तन गर्न अपिल गरे ।

श्रीकान्त भन्छन्, ‘अदालतमा हाम्रो तर्फबाट वकिलले लडेंं ।’

विद्यार्थी आफैं अदालतमा हाजिर हुनुपर्ने आवश्यकता थिएन ।

मुद्दा अघि बढ्दै गर्दा श्रीकान्तले एउटा खबर सुने । हैदरावादको एक प्रमुख विद्यालय चिन्मय विद्यालयले दृष्टिविहीन विद्यार्थीहरूलाई विज्ञान र गणित पढाउने प्रस्ताव राखेको छ । यो विद्यालय श्रीकान्तका लागि नयाँ अवसरभन्दा कम थिएन । श्रीकान्त खुसीसाथ विद्यालयमा भर्ना भए ।

श्रीकान्त आफ्नो कक्षामा एक मात्र दृष्टिविहीन विद्यार्थी थिए । तर श्रीकान्त भन्छन्, ‘उनीहरुले मलाई विद्यालयमा न्यानो स्वागत गरे । मेरो कक्षाको शिक्षक धेरै मायालु थिए । उनले मलाई सक्दो सहयोग गरे ।’

उनले रेखाचित्र कोर्न पनि सिके । स्पर्श रेखाचित्रहरू रबरको चटाईमा पातलो फिल्म प्रयोग गरेर बनाइन्छ । यसमा पेन्सिलले तस्विरहरू कोर्दा यसले उठेको रेखा बनाउँछ, जसलाई हातले छोएर महसुस गर्न सकिन्छ ।

६ महिनापछि अदालतबाट खबर आयो- श्रीकान्तले मुद्दा जिते ।

अदालतले आन्ध्र प्रदेश राज्य बोर्डका सबै विद्यालयमा दृष्टिविहीन विद्यार्थीहरूले विज्ञान र गणित पढ्न सक्ने फैसला गर्यो ।

श्रीकान्तले भने, ‘म धेरै खुसी भए । मैले यो गर्न सक्छु भनेर संसारलाई प्रमाणित गर्ने पहिलो मौका पाएँ । अब आउने पुस्ताले मुद्दा दायर गर्ने र अदालतमा लड्ने चिन्ता लिनु पर्दैन ।’

अदालतको निर्णयको केही समयपछि श्रीकान्त राज्यको सरकारी विद्यालयमा फर्के जहाँ उनले विज्ञान र गणित जस्ता विषयहरू पढे । परीक्षामा श्रीकान्तले ९८ प्रतिशत अंक ल्याए ।

श्रीकान्तको योजना भारतको प्रतिष्ठित इन्जिनियरिङ कलेज अर्थात् इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआईटी) मा आवेदन दिने थियो ।

त्यस कलेजमा भर्ना हुनका लागि कडा प्रतिस्पर्धा हुन्थ्यो । विद्याथीले प्रवेश परीक्षा पास गर्नका लागि लामो समयसम्म कोचिङ कक्षा लिएका हुन्थो । तर कुनै पनि कोचिङ स्कूलले श्रीकान्तलाई भर्ना गरिदिएन ।

श्रीकान्तलाई भनियो कि कोचिङ पठाउने संस्थामा उनले पाठ्यक्रमको भार सम्हाल्न सक्दैनन् । यो सानो बिरुवामा परेको भारी वर्षा जस्तै हुनेछ । ती संस्थाले श्रीकान्त शैक्षिक रुपमा फिट हुँदैनन् भन्ने धारणा राखे । भर्ना लिन मानेनन् ।

उनले भनेका थिए यसमा मलाई कुनै पछुतो छैन । यदि आइआइटीले मलाई भर्ना गर्न चाहँदैन भने मलाई पनि आइआईटी चाहिदन ।

यसको सट्टा, श्रीकान्तले अमेरिकी विश्वविद्यालयमा आवेदन दिए र विभिन्न ५ वटा प्रस्ताव प्राप्त गरे । श्रीकान्तले क्याम्ब्रिज, म्यासाचुसेट्समा एमआईटी रोजे जहाँ उनी पहिलो दृष्टिविहीन अन्तर्राष्ट्रिय विद्यार्थी थिए । श्रीकान्त २००९ मा त्यहाँ पुगेका थिए र आफ्नो प्रारम्भिक अनुभवलाई मिश्रित रहेको बताउनँछन् ।

श्रीकान्त भन्छन्, ‘त्यहाँको कडा चिसो मेरो लागि पहिलो झट्का जस्तै थियो । किनकि मलाई चिसो मौसममा बस्ने बानी थिएन । यसबाहेक खानाको स्वाद पनि फरक थियो । फ्रेन्च फ्राइज र फ्राइड चिकन फिंगरहरू मात्र थिए खानका लागि । पहिलो एक महिना खाए र बाँचे । तर श्रीकान्तलाई चाँडै यहाँ बस्ने बानी परेको थियो ।

श्रीकान्त भन्छन्, “मआईटीमा बिताएको समय मेरो जीवनको सबैभन्दा मीठो पल बनेको छ । पढाइको स्तरमा यो धेरै गाह्रो थियो । तर विश्वविद्यालयले मलाई त्यहाँ रहन र मेरो सीप बढाउन हरदम सहयोग गर्यो ।’

पढ्दै गर्दा, श्रीकान्तले युवा अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम दिन र शिक्षित गर्ने उद्देश्यले हैदराबादमा बहुअपाङ्गता भएका बालबालिकाका लागि समन्वय केन्द्र नामक गैर–नाफामूलक संस्था स्थापना गरे । उनले आफ्नै लगानीमा हैदराबादमा ब्रेल लिपीको पुस्तकालय पनि खोले ।

श्रीकान्तको जीवन राम्रै चलिरहेको थियो । एमआईटीबाट म्यानेजमेन्ट साइन्स पढेपछि उनलाई धेरै कामका अफर आए । तर उनले अमेरिकामा नबस्ने निर्णय गरे ।

श्रीकान्तको विद्यालय समयको तितो अनुभवन दिमागबाट मेटिएको थिएन । उनलाई सधैं आफ्नो देशमा नै आफ्नो काम गर्नुपर्छ भन्ने लाग्थ्यो । उनले अपाङ्गता भएका मानिसलाई रोजगारी दिन कम्पनी स्थापना गरेका थिए ।

श्रीकान्त भन्छन्, ‘मैले जीवनमा धेरै कुराको लागि धेरै संघर्ष गर्नुपरेको थियो । अवस्था यस्तो थियो कि सबैले मैले जस्तो लड्न सक्दैनन् । सबैले मैले जस्तो गुरु पाउन सक्दैनन् ।’

अपाङ्गता भएकाहरूका लागि अध्ययनपछिको रोजगारीको सामान्य विकल्प नभएसम्म निष्पक्ष शिक्षा प्रणालीका लागि लड्नुको कुनै अर्थ छैन भन्ने महसुस गरेको उनी बताउँछन् ।

त्यसैले श्रीकान्तले सोचे, ‘मैले किन आफ्नै कम्पनी नखोल्ने, जहाँ म शारीरिक रूपमा अपाङ्गता भएका मानिसहरूलाई काम दिन सकूँ ।’

श्रीकान्त सन् २०१२ मा हैदरावाद फर्किए । बोलेन्ट इन्डस्ट्रिज सुरु गरे । त्यो एक प्याकेजिङ कम्पनी हो । जसले पर्यावरण–मैत्री उत्पादनहरू उत्पादन गर्दछ । हाल यो कम्पनीको भ्यालुएसन ७७२.८ करोड पुगेको छ ।

यस कम्पनीमा धेरै जसो अपाङ्गता भएका र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू काम गर्छन् । कोरोना महामारी अघि कम्पनीका ५०० कर्मचारीमध्ये ३६ प्रतिशत अपांगता भएका व्यक्ति नै कामदार थिए ।

गत वर्ष, ३० वर्षको उमेरमा, श्रीकान्तलाई वल्र्ड इकोनोमिक फोरमको युवा ग्लोबल लिडर्स २०२१ को सूचीमा समावेश गरियो । श्रीकान्त भन्छन् कि आगामी ३ वर्षभित्र उनको कम्पनी बोलान्ट इन्डस्ट्रिजले विश्वव्यापी रुपमा आईपीओ बिक्री गर्नेछ । कम्पनीको सेयर एकै साथ धेरै अन्तर्राष्ट्रिय स्टक एक्सचेन्जहरूमा सूचीकृत हुनेछ ।

श्रीकान्तमाथि बलिउड फिल्म पनि बन्ने भएको छ । प्रख्यात अभिनेता राजकुमार रावले यस फिल्ममा श्रीकान्तको भूमिका निभाउनेछन् । यसको सुटिङ जुलाईदेखि शुरु हुनेछ ।

श्रीकान्त भन्छन्, ‘जब म कसैलाई भेट्छु, मानिसहरू सोच्छन । अरे यो त दृष्टिविहिन पो रहेछ । कति त दुःखी पनि हुन्छन् । तर म को हुँ र म के गर्छु भन्ने सुनाउने बित्तिकै उनीहरुमा सबै कुरा परिवर्तन हुन्छ ।’

उनका अनुसार जीवनमा कहिल्यै पनि हार खानु हुँदैन । जस्तो सुकै कठिन अवास्थामा पनि संघर्ष गर्दै गए एक न एक दिन सफल हुन सकिन्छ । त्यसकारण जीवनमा कहिल्यै पनि हार नखाऔं ।


क्लिकमान्डु