१० फाइनान्सले कमाए ५५ करोड नाफा, सबैभन्दा धेरै बेष्ट फाइनान्सको



C

काठमाडौं । १० वटा फाइनान्स कम्पनीहरुले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार यस अवधिमा १० फाइनान्स कम्पनीहरुले करिब ५५ करोड रुपैयाँ नाफा कमाएका छन् ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा यी कम्पनीले ५४ करोड ७८ लाख २० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

१० वटामध्ये एक कम्पनीले मात्रै नाफा बढाएको छ । गुडविल फाइनान्सले ४२.७१ प्रतिशतले वृद्धि गरेको हो । कम्पनीले ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । गुडविलले गत आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा सर्वाधिक नाफा बेष्ट फाइनान्सले कमाएको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा बेष्ट फाइनान्स र नेपाल फाइनान्स घाटामा थिए । यी फाइनान्स कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासमा नाफा बढाएका छन् ।

गत आवको यसै अवधिमा घाटामा रहेको बेष्ट फाइनान्सले चालु आवको दोस्रो त्रैमासको अवधिमा १४ करोड २ लाख ९ हजार रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा कमाउने फाइनान्स कम्पनीको सूचीमा परेको हो । गत आवको दोस्रो त्रैमासको अवधिमा फाइनान्स १५ करोड ७६ लाख रुपैयाँ घाटामा थियो ।

यस्तै, नेपाल फाइनान्सले ३ करोड ३२ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्स गत आवको यसै अवधिमा ३९ लाख रुपैयाँ नोक्सानमा थियो ।

गुर्खाज फाइनान्सको नाफा सर्वाधिक घट्यो
गत आवको यसै अवधिमा नाफामा रहेका सात फाइनान्सको नाफा घटेको छ । गुहेश्वरी मर्चेन्ट, श्री इन्भेष्टमेन्ट, आइसीएफसी फाइनान्स, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्स र गुर्खाज फाइनान्सको नाफा घटेको छ ।

यी मध्ये सबैभन्दा धेरै नाफा गुर्खाज फाइनान्सको घटेको छ । चालु आवको दोस्रो त्रैमासको अवधिमा १ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ७४.८५ प्रतिशतले कमी हो ।

गत आवको यसै अवधिमा गुर्खाजले ६ करोड ५८ लाख ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, गुर्खाज फाइनान्स पछि नाफा घट्नेमा पोखरा फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स र आइसिएफसी फाइनान्स परेका छन् ।
पोखरा फाइनान्सको नाफा ६९.४३ प्रतिशतले घटेर २ करोड ९६ लाखमा सिमित भएको छ । कम्पनीले गत आवको यसै अवधिमा ९ करोड ६८ ला खरुपैयाँ नाफा कमाएको थियो ।

समृद्धि फाइनान्सको नाफा ६३.९५ प्रतिशत, मञ्जुश्री फाइनान्सको नाफा ३३.५२ प्रतिशत र आइसिएफसी फाइनान्सको नाफा २४.४१ प्रतिशतले घटेको छ ।

भने गुहेश्वरी मर्चेण्ट फाइनान्सको नाफा १७.४७ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु