बीमा समितिद्वारा जलवायु जोखिम सम्बन्धी निर्देशिका जारी, साउन १ गतेदेखि लागू हुने



काठमाडौं । बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको छ । समितिले आगामी आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी सो निर्देशिका जारी गरेको हो ।

समितिले बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमकहरुमा आईपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्यांकन गर्न आवश्यक रहेकोले उक्त बीमालेख जारी गरिएको जानकारी दिएको छ ।

समितिले बीमा ऐन २०४९ को दफा ८ (घ२) अनुसार निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार यस निर्देशिका लागू भएको मितिले ३ वर्ष पूरा भएपछि बीमा कम्पनीले नयाँ बीमा योजना तयारी गर्दा सोको बीमाशुल्क निर्धारणमा जलयावु जोखिमलाई कसरी समावेश गरिएको सोको जानकारी स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।

बीमा कम्पनीहरुले जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाई वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिवेदन पेश गर्न नसकेमा बीमा कम्पनीले सो सम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन त्यो समेत खुलाउनु पर्नेछ ।

यस्तै, जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नुको कारण समेत स्पष्ट रुपमा खुलाउनु पर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।

बीमा कम्पनीहरुले जलवायु जोखिमको प्रभाव सम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना ग्राहकवर्गलाई समेत सुझाव दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।


क्लिकमान्डु