६ महिनामा चीनबाट मात्रै २३ अर्बको लगानी प्रतिवद्धता, भारतबाट किन आउन छाड्यो ?



काठमाडौं । मुलुकमा लगानीको वातावरण सुधारका खासै प्रयास नभए पनि प्रत्यक्ष विदेशी लगानीको प्रतिवद्धतामा भने वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट ठूलो मात्रामा प्रत्यक्ष विदेशी लगानीको प्रतिवद्धतामा आएसँगै यसमा सुधार देखिएको हो ।


विदेशी लगानी स्वीकृत गर्ने निकाय उद्योग विभागको चालु आर्थिक वर्षका तथ्यांकअनुसार ३० प्रतिशतले प्रत्यक्ष विदेशी लगानीको प्रतिवद्धतामा वृद्धि भएको छ ।

तथ्यांकअनुसार साउनदेखि पुससम्ममा ३० अर्ब ५६ करोड २२ लाख रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले धेरै हो ।

गत वर्ष २३ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको थियो ।

यस अवधिमा विदेशी लगानी ल्याउनका लागि विशेष काम नभए पनि नियमित प्रयासका कारण लगानीको प्रतिवद्धता बढेको उद्योग विभाग महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

‘अहिले विदेशी लगानीको लागि नै भनेर केही विशेष काम भएको छैन,’ तिवारीले भने, ‘पहिलदेखि नै हामीले नीतिगत सुधार र सहजीकरणक काम गरिरहेका छौं । यसै कारणले लगानी बढ्दै गएको हो ।’

चालु आर्थिक वर्षमा ३० अर्ब लगानीको लागि १२९ वटा परियोजना सञ्चालन गर्ने प्रतिवद्धता आएको छ । उक्त परियोजनामा ८ हजारभन्दा धेरैले रोजगारी पाउने उल्लेख छ ।

यसअवधिमा प्रमुख १५ देशले नेपालमा लगानीको गर्ने भनेर परियोजना दर्ता गरेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनबाट आएको छ ।

६ महिनामा नेपालमा आएको कुल लगानीको प्रतिवद्धतामध्ये चीनबाट मात्रै ७६.८६ प्रतिशत आएको छ । चीनबाट (ताइवानसहित) यस अवधिमा २३ अर्ब ४९ करोड १० लाख रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ ।

गत वर्ष भने यस अवधिमा चीनबाट १८ अर्ब ११ करोड ७२ लाख रुपैयाँ प्रतिवद्धता आएको थियो ।

चीनबाट मुख्यगरी सेवा क्षेत्रका परियोजनामा धेरै लगानी आएको छ । सेवा क्षेत्रमा ३८ वटा परियोजनाको लागि ११ अर्ब ३१ करोड २५ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । त्यसपछि पर्यटन क्षेत्रमा ४८ वटा परियोजनाको लागि ९ अर्ब २० करोड ५५ लाख, उत्पादनमूलक उद्योगमा २ अर्बको लगानी प्रतिवद्धता आएको छ ।

चीनपछि नेपालमा लगानीको धेरै प्रतिवद्धता आउने देशमा स्पेन रहेको छ । स्पेनले एउटा परियोजनाको लागि ४ अर्ब ८५ करोड रपैयाँ बराबरको लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

धेरै लगानीको प्रतिवद्धता आउने भारतबाट भने यसपाली खासै आएको छैन । भारतबाट ६ महिनाको अवधिमा २९ करोड रुपैयाँको मात्र लगानी प्रतिवद्धता आएको छ ।

पछिल्लो ६ महिनामा आएको ३० अर्ब रुपैयाँभन्दा धेरैको लगानीको प्रतिवद्धता मुलुकका १२ वटा जिल्लामा विभिन्न परियोजना संचालन गर्ने उल्लेख छ ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ७५ वटा परियोजनामा १६ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेर ४ हजार ५ सय जनालाई रोजगारी दिने प्रतिवद्धता छ ।

त्यस्तै, ललितपुरमा ६ अर्ब ४५ करोडका ९ परियोजना, भक्तपुरमा ४ अर्ब ७१ करोडका २९ परियोजना, बारामा एक वर्षको एक परियोजनामा लगानी गर्ने प्रतिवद्धता रहेको छ ।

त्यस्तै, बर्दिया, धादिङ, कास्की, काभ्रे, मुगु, म्याग्दी, पर्सा र रोल्पा जिल्लामा पनि उक्त लगानी गर्ने प्रतिवद्धतामा उल्लेख छ ।


क्लिकमान्डु