नबिल, ग्लोबल आईएमई र एनआईसी एशिया: कसको सेयर किन्दा फाइदा ?



काठमाडौं । वाणिज्य बैंकमध्ये तीन वटा ग्लोबल आईएमई, नबिल र एनआईसी एशिया बैंकको वित्तीय अवस्थाका बारेमा निकै चर्चा हुने गरेको छ । उसो त अन्य बैंक पनि प्रतिस्पर्धामा नभएको होइनन् ।

तर विशेष गरी यी बैंक अधिकांश सूचकांकमा निकै प्रतिस्पर्धी देखिन्छन् ।

ग्लोबल आईएमई बैंक अहिलेसम्म धेरै चुक्ता पुँजी भएको बैंक हो । नबिल बैंकलाई सेलिब्रेटी बैंक र एनआईसी एशिया बैंकलाई प्रणालीलाई नै चूनौती दिने बैंकका रुपमा पनि चर्चा परिचर्चा हुने गरेको छ ।

यस विश्लेषणत्मक लेखमा हामीले यी तीनै वटा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रकाशित गरेको वित्तीय अवस्थाका १० सूचकांकलाई आधार मानेका छौं ।

चुक्ता पुँजी

ग्लोबल आईएमई बैंक नबिल र एनआईसी एशिया बैंकको तुलनामा धेरै चुक्ता पुँजी भएको बैंक हो । ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने नबिल बैंकको १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ छ । साथै, एनआईसी एशिया बैंकको पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ छ । एनआईसी एशिया बैंक जसरी आक्रमक रणनीतिका साथ अघि बढेको छ सोही अनुसार चुक्ता पुँजी भने बढाएको छैन । दोस्रो बजारमा कुल बजार पुँजीकरणको आधारले तीनवटा बैंक उत्कृष्ट १० भित्र पर्छन् । नबिल बैंक पहिलो स्थानमा छ । एनआईसी एशिया छैटौ र ग्लोबल सातौ स्थानमा छ ।

जगेडा कोष

कुनै पनि बैंक कति बलियो अवस्थमा छ भनेर हेर्न विभिन्न सूचकांकमध्ये जगेडा कोष पनि हो । एनआईसी एशिया बैंकको जगेडा कोषमा ८ अर्ब ७६ करोड ७९ लाख ९१ हजार रुपैयाँ छ । जबकी बैंकको चुक्ता पुँजी नै ११ अर्ब ५६ करोड छ ।

यता नबिल बैंकको जगेडा कोषमा १४ अर्ब ६२ करोड ६४ लाख ८४ हजार रुपैयाँ भने ग्लोबल आईएमई बैंकको जगेडा कोषमा ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

निक्षेप
निक्षेप संकलनमा तीन बैंकमध्ये एनआईसी एशिया बैंक सबैभन्दा अगाडि छ । बैंकले २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यता ग्लोबल आइएमई बैंकले २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख ११ हजार रुपैयाँ र नबिल बैंकको २ खर्ब ३२ अर्ब ५५ करोड ४७ लाख ३९ हजार रुपैयाँ संकलन गरेको छ ।

कर्जा प्रवाह

तीन वटा बैंकमध्ये धेरै कर्जा लगानी गर्ने बैंकमा एनआईसी एशिया बैंक नै अगाडि छ । बैंकले २ खर्ब ६१ अर्ब ९२ करोड ३० लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले २ खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख ६६ हजार रुपैयाँ र नबिल बैंकले २ खर्ब १५ अर्ब २० करोड ६१ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद ब्याज आम्दानी

खुद ब्याज आम्दानी पनि तीन बैंकमध्ये एनआईसी एशिया बैंक नै अगाडि छ । बैंकले ५ अर्ब २४ करोड १६ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यता ग्लोबल आईएमई बैंकले ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ र नबिल बैंकले ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सञ्चालन मुनाफा

ग्लोबल आईएमई बैंकले ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै एनआईसी एशिया बैंकले ३ अर्ब ४२ करोड ५ लाख ५५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ भने नबिल बैंकको ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

नाफा

नाफा कमाउने बैंकमा भने तीन बैंकमध्ये ग्लोबल आइएमई शीर्ष स्थानमा छ । ग्लोबल आईएमई बैंकले यो ६ महिनाको अवधिमा २ अर्ब ६६ करोड३३ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

साथै, दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंक २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने नबिल बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्रतिसेयर आम्दानी

प्रति सेयर आम्दानी आम्दानीमा पनि एनआईसी एशिया बैंक नै अगाडि छ । बैंकको चालु आवको ६ महिनामा ४१ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै नबिल बैंकको २३ रुपैयाँ ५९ रहेको छ भने ग्लोबल आइएमई बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रति सेयर नेटवर्थ

प्रति सेयर नेटवर्थमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा छ । यस्तै नबिल बैंकको प्रति सेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ । साथै, ग्लोबल आईएमई बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

खराब कर्जा

तीन वटा बैंकमध्ये बढी ग्लोबल आइएमई बैंकको खराब कर्जा धेरै छ । बैंकको खराब कर्जा १.१३ प्रतिशत छ । साथै, यस्तै नबिल बैंकको १.११ प्रतिशत र एनआईसी एशिया बैंकको ०.४७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु