अर्थमन्त्री शर्माले राष्ट्रिय वाणिज्य बैंकलाई भने- कृषि क्षेत्रको लगानी २ गुणाले बढाउनुहोस्



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय वाणिज्य बैंकलाई कृषि क्षेत्रमा २ गुणा लगानी बढाउन आग्रह गरेका छन् ।

सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दे मन्त्री शर्माले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन् ।

‘नयाँ कार्यक्रममा ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ’, उनले भने, ‘कृषिमा सकेसम्म दुई गुणा वृद्धि गर्नुहोस् ।’

यसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
उनले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउँदै कृषिमा लगानी बढाउनुपर्ने बताए ।
मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो’, उनले भने, ‘यो रणानीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’
उनले बैंकले मोडल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्ने बताए ।
पछिल्लो समय प्रविधिको युग रहेको बताउँदै उनले बैंकले शुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रशंसनीय रहेको बताए । यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा उनले विश्वास व्यक्त गरे ।


क्लिकमान्डु