निर्वाचनको अन्योलता र तरलता चापको असर सेयर बजारमा, १ सय अंकले घट्यो सूचक



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार १० अंकले घटेको नेप्से परिसूचक सोमबार १०० अंकले ओरालो लागेको छ । ३२ सय अंकबाट २४ सय अंकको हाराहारीमा झरेको नेप्से गत साताको बिहीबारसम्म ३ हजार विन्दु छुने तयारीमा थियो ।

तर आइतबार र सोमबार ११० अंकभन्दा बढीले ओरालो लागेपछि सेयर लगानीकर्तामा फेरि निराशा छाएको छ । यद्यपि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भएको सामान्य वृद्धिले आशा भने कायमै राखेको छ ।

आगामी वैशाख महिनामा तीन वटै तहको निर्वाचन गर्ने वा नगर्ने भन्ने राजनीतिक अन्योल तथा बैंकिङ प्रणालीमा देखिएको तरलता चापको असर सेयर बजारमा देखिएको जानकारहरुको भनाइ छ । पछिल्लो तथ्यांक अनुसार १३ वटा वाणिज्य बैंक कर्जा दिनै नसक्ने गरी तरलताको चापमा परेका छन् । जसको असर सोमबारको कारोबारमा देखिएको हो ।

सोमबार १००.१० अंकले घटेर नेप्से परिसूचक २८२०.४१ अंकमा सीमित भएको छ । अधिकांश उपसूचक राताम्मे भएका छन् । यो दिन १ करोड ७० लाख ६३ हजार ८३३ सेयर कित्ता ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँमा कारोबार भएको छ ।

कुल २१७ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ८ कम्पनीको सेयर मूल्य भने उकालो लागेको छ । साथै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यद्यपि यो दिनको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । साथै ज्योति लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, जनउत्थान सामूदायिक लघुवित्त विकास बैंक र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सामान्य बढेको छ ।


क्लिकमान्डु