६२ सयबढी वाणिज्य बैंकका कर्मचारीमा कोरोना, देशभर १४२ शाखा बन्द (सूचीसहित)



काठमाडौं । पछिल्लो दुई सातायता कोरोना भाइरसको संक्रमण जोखिमको असर बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा देखिएको छ ।

मुलुकमा हरेक दिन १० हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भइरहँदा यसबाट वाणिज्य बैंकमा कार्यरत कर्मचारी पनि अछुतो छैनन् ।

कर्मचारीमा कोरोना संक्रमण देखिन थालेसँगै सतर्कता अपनाउँदै यसबीचमा वाणिज्य बैंकका करिब ३ प्रतिशत शाखा कार्यालय बन्द भएका छन् । हाल देशभर ४ हजार ८४७ वटा बैंकका शाखा कार्यालय सञ्चालनमा छन् ।

सबीचमा वाणिज्य बैंकमा कार्यरत ६ हजार २१३ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । कर्मचारीमा कोरोना संक्रमण हुन थालेपछि बैंकिङ सेवा प्रभावित बनेको हो ।

नेपाल बैंकर्स संघले सोमबार विहान उपलब्ध गराएको तथ्यांक अनुसार हाल मुलुकभरका १४२ वटा शाखा कार्यालय कोरोना भाइरस संक्रमणको जोखिमसँगै बन्द भएका हुन् । जसकारण १४२ शाखा कार्यालयबाट उपलब्ध बैंकिङ सेवा बन्द भएको छ । यता नेपाल राष्ट्र बैंकले पनि कोरोना महामारीको उच्च जोखिम भएसँगै बैंक तथा वित्तीय संस्थालाई सकेसम्म सेवा भौतिक उपस्थितीमा हुने कार्य कम गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा विभिन्न वाणिज्य बैंकका ९४ वटा शाखा कार्यालय बन्द भएका छन् । साथै, प्रदेश नम्बर १ मा १४ वटा कार्यालय, गण्डकी प्रदेशमा १३ वटा, लुम्बिनी विभिन्न प्रदेशमा वाणिज्य बैंकका ८ वटा शाखा कार्यालय बन्द भएका छन् । त्यसैगरी मधेश र सुदुरपश्चिम प्रदेशमा ५/५ वटा र कर्णाली प्रदेशमा ३ वटा शाखा कार्यालय बन्द छन् ।

सबैभन्दा बढी एनआईसी एशियाको शाखा बन्द
बैंकर्स संघका अनुसार हालसम्म १७ वटा वाणिज्य बैंकका १४२ वटा शाखा कार्यालय बन्द भएका छन् । जसमा सबैभन्दा बढी एनआईसी एशिया बैंकका ३५ वटा शाखा कार्यालय बन्द भएका छन् । साथै नबिल बैंकका १९ वटा, प्राइभ बैंक र राष्ट्रिय वाणिज्य बैंकका १५/१५ वटा शाखा कार्यालय बन्द भएका छन् ।

साथै, प्रभु बैंकका ९ वटा, सेञ्चुरी बैंका ८ वटा, सिभिल र मेगा बैंकका ७/७ वटा, सनराइज बैंका ६ वटा, ग्लोबल आईएमई बैंकका ४ वटा शाखा कार्यालय बन्द भएका छन् । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट, एनएमबि र सिद्धार्थ बैंकले ३/३ वटा शाखा कार्यालय बन्द गरेका छन् भने कुमारी र माछापुछ्रे बैंकले २/२ वटा र नेपाल बंगलादेश बैंकले एउटा शाखा कार्यालय बन्द गरेका छन् ।


क्लिकमान्डु