कर नतिर्ने बोटलर्सले सवा ४ अर्ब ऋणका लागि गरायो रेटिङ



काठमाडौं । नेपालमा कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले उत्पादन तथा बिक्री गर्ने कम्पनी बोटलर्स नेपालले सवा ४ अर्ब ऋणका लागि रेटिङ गराएको छ ।

बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेड दुबै कम्पनीले ४ अर्ब २७ करोड ३० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।
कम्पनीले स्वामित्व फेरबदल हुँदा नियमअनुसार तिर्नुपर्ने पूँजीगत लाभकर छली गरेको महालेखा परीक्षक कार्यालयको ठहर छ ।

महालेखाले कोलाकोलाबाट २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लाभकर असूल गर्नुपर्ने ५८औं प्रतिवेदनमा उल्लेख गरेको थियो ।

यता कोरोनाकालमा धिमा भएको व्यापारको गति भने अहिले पुरानै लयमा फर्कन थालेको देखिएको छ । बोटलर्स नेपाल बालाजुले २०१९ मा ९ अर्ब ६८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२० मा कोरोनाका कारण करिब ३ अर्ब रुपैयाँले कम भइ ६ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ कारोबार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा २०२० को तुलनामा करिब डेढ अर्ब बढी अर्थात् ८ अर्ब ४४ करोड २० लाख रुपैयाँ कारोबार गर्र्न सफल भएको छ । कम्पनीले सन् २०२२ को पहिलो त्रैमासमा ३ अर्ब ४५ करोड ७० लाख रुपैयाँ व्यापार गर्ने अनुमान गरेको छ ।

२०२० मा कम्पनीको आम्दानी घटे पनि २०२१ मा २२ प्रतिशतले आम्दानी बढेको कम्पनीले जनाएको छ । कम्पनीले पहिलो त्रैमासिकमा ३ अर्ब बढी कारोबार हुने अनुमान गरेको छ ।

अर्को कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडको व्यापारले पनि गति लिएको छ । कम्पनीले २०१९ मा ५ अर्ब ८१ करोड १० लाख रुपैयाँ र २०२० मा ४ अर्ब ८४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कोरोनाका कारण १ अर्बले घटेको कारोबार सन् २०२१ भने ६ अर्ब ३१ करोड ७० लाख रुपैयाँको व्यापा भएको छ । कम्पनीले २०२२ को पहिलो त्रैमासमा २ अर्ब ५३ करोड १० लाख रुपैयाँको कारोबार गर्ने अनुमान गरेको छ ।

इक्राले गरेको रेटिङअनुसार कम्पनीले १२ देखि १५ महिनामा कोरोनाको असरलाई कम गर्दै व्यापार रिबाउन्स भइरहेको जनाएको छ ।


क्लिकमान्डु