नगर विकास कोषले उपत्यकाका विभिन्न स्थानमा बहुतले पार्किङ बनाउने, प्रस्तावका लागि गर्यो आह्वान




काठमाडौं । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना सञ्चालन गर्दै आएको नगर विकास कोषले काठमाण्डौंमा बहुतले मेकानिकल पार्किङ निर्माण गर्ने भएको छ ।

यसका लागि कोषले लगानीका लागि प्रस्ताव आह्वान समेत गरेको छ ।

उपत्यकामा हुने अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न यो योजना ल्याइएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले बताए ।

उक्त परियोजनामा लगानी गर्नका लागी काठमाडौं महानगरपालिकाभित्र कम्तीमा आठ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ ।

आयोजना निर्माण गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरुले १५ दिनभित्र आवश्यक कागजातसहित विकास कोषको कार्यलयमा पेश गर्नुपर्ने छ ।

काठमाडौंको थापालथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खुलगायतका मुख्य व्यावसायिक सडक छेउहरु वा दोहोर प्रवेशमार्ग भएको भित्रि जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ ।
प्रस्ताव पेश गर्नका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नविकरणसहितको प्रमाणपत्रको प्रतिलिपि,प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।


क्लिकमान्डु