नेपालको प्रिमियम मदिरा ब्राण्ड ‘यार्सागुम्बा’ अब जापानमा



काठमाडौँ । नेपालको प्रिमियम ह्विस्की यार्सागुम्बा जापानमा निर्यात भएको छ ।

एभरेष्ट हर्ब्स प्रालिले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्डलाई जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात गरेको हो ।

यार्सागुम्बासहित विभिन्न जडिबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अष्ट्रेलिया, चीन निर्यात भैसकेको छ ।

नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा सर्भ हुने डोमेस्टिक ब्रान्डमा पर्छ ।

जापानमा पहिलो पटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको तोमोदाची हबका प्रबन्ध निर्देशक बिक्रम भण्डारीले नेपाल हिमालयको देश भएको र जापानीजलाई नेपालको हिमाल र यार्सागुम्बाको बारेमा थाहा भएका कारण पनि यो ब्राण्डलाई सहजै चिनाउन सजिलो भएको बताए ।

‘हामीले पहिलो पटक कोभिड महामारीकै बीच जापानमा निर्यात गरेको भएपनि जापान ल्याएको पहिलो हप्तामा नै यार्सागुम्बाको बारे राम्रो प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भने ।

‘यार्सागुम्बा अहिले जापानको टोकियो सहर आसपास मात्र उपलब्ध छ, हामीले जापानका मुख्य सहरका होटल, रिसोर्ट, क्लब, रेष्टुरेन्ट, बारलगायतमा यार्सागुम्बा पुराउने तयारी गरिरहेका छौं, भण्डारीले थपे ।

अनलाइन अर्डर र सुपरमार्केटमा उपलब्ध गराउनका लागि पनि केहि कम्पनीसँग कुराकानी भएको उनले बताए ।

लण्डनबाट एमबीए गरेका भण्डारी जापानमा व्यवसाय गर्दै आइरहेका छन् । जापानको होटल र रेष्टुरेण्टबारे राम्रो दख्खल राख्ने भण्डारीले छिटैं जापानका मुख्य सहरका प्रख्यात होटल र रेष्टुरेन्टमा यार्सागुम्बा उपलब्ध हुने बताए ।

यार्सागुम्बालाई कम्पनीले वेभरेजको रुपमा प्रचार गर्दै आइरहेको छ । यार्सागुम्बामा ९ प्रकारका दुर्लभ जडिबुटी मिश्रण गरिएको कम्पनी जनाएको छ ।


क्लिकमान्डु