एविसिका आराध्यदेव पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने



काठमाडौं । पदयात्राका क्षेत्रमा विश्वकै १० उत्कृष्ट गन्तव्यमध्येको अन्नपूर्ण आधार शिविर (एविसि)को पदयात्रा मार्गस्थित पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने भएको छ ।

पदयात्रा मार्गको दोभान र हिमालयको बीचमा पर्ने दुई हजार ८०० मिटरको उचाइ रहेको स्थलमा अवस्थित पूजनीयम् बराहलाई प्राचीनकालदेखि यस क्षेत्रका बासिन्दाले आराध्यदेवका रुपमा पूजाआजा गर्ने गरेका छन् ।

पूजनीयम् १०८ धारा बराहप्रति परापूर्वकालदेखि नै विशेष आस्था रहेको र अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्नेलाई यिनै बराहले रक्षा गर्ने गरेको विश्वास कायमै रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव एवं निर्माण समितिका सचिव दिलीप गुरुङले जानकारी दिए ।

पदयात्री अन्नपूर्ण आधार शिविर जाँदा र फर्कदा होस् वा हिमाल चढ्न जाँदा र फर्कदा होस् बराहको दर्शन गर्ने गरेको जनाउँदै उनले यस क्षेत्रको संरक्षणमा बराहको विशेष योगदान रहेको जनविश्वास कायमै रहेको बताए ।

महत्वपूर्ण आस्था विश्वास रहेकै कारण मन्दिर निर्माणका लागि सहयोेग जुट्ने अपेक्षा गरिएको निर्माण समितिका अध्यक्ष जगनरास गुरुङले बताए ।

मन्दिर निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले वडामार्फत रु १० लाख विनियोजन गरिसकेको छ । सबैको साथ र सहयोगमा आकर्षक मन्दिर तयार गरी पदयात्रालाई धार्मिक पर्यटनसँग पनि जोड्ने लक्ष्य राखिएको उनले बताए ।


क्लिकमान्डु