४१ माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । सेयर लगानीकर्ताका लागि सबैभन्दा आकर्षक लाभांश दिनेमा माइक्रोफाइनान्स पनि हुन् । लगानीकर्ता पनि पछिल्लो समय यही कारणले पनि माइक्रोफाइनान्समा आकर्षित भएको पाइन्छ । त्यसैले पनि सञ्चालनमा रहेका ५६ वटा माइक्रोफाइनान्स कम्पनीमध्ये अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता नै १ हजार रुपैयाँभन्दा माथि छ ।

जुन वाणिज्य बैंकको भन्दा बढी हो । वाणिज्य बैंकमध्ये नबिल बाहेक कुनै पनि बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार रुपैयाँभन्दा बढी छैन ।

लगानीकर्ताहरु माइक्रोफाइनान्सको सेयरमा आकर्षित हुनुको कारण यिनीहरुले लिने लाभांश पनि हो । ५६ वटा माइक्रोफाइनान्स कम्पनीमध्ये हालसम्म आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट ४१ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी लाभांश महिला लघुवित्त वित्तीय संस्था छ । संस्थाले ५० प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ४७.५ र नगद २.५ सहित ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
महिलापछि लाभांश दिनेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले ४५ प्रतिशत लाभांश दिने भएको छ । जसमा ४० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ४२ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ३५ र नगद ७ प्रतिशत रहेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश बदिने भएको छ । जसमा बोनस ३२.३ र नगद १.७ सहित ३४ प्रतिशत लाभांश दिने भएको छ ।

यस्तै सबैको लघुवित्तले ३२.६८, सपोर्ट लघुवित्तले ३१.५८, निर्धन उत्थान लघुवित्तले ३१.०५, छिमेक लघुवित्त र उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत लाभांश दिने भएका छन् । उन्नतिले नगद नदिइ बोनस मात्रै दिने भएको छ ।

लाभांश घोषणा गरेका कम्पनीमा २६ वटा कम्पनीको लाभांश २० देखि ३० प्रतिशतको बीचमा रहेको छ । २० प्रतिशत भन्दा कम १० प्रतिशतसम्म ५ वटा कम्पनीको लाभांश रहेको छ भने सबैभन्दा कम लाभांश एआईसी एसिया लघुवित्तको रहेको छ । संस्थाले नगद मात्रै ५.४१ प्रतिशत नगद लाभांश दिने भएको छ । नगद लाभांश दिने यो कम्पनी मात्रै हो ।

अधिकांश कम्पनीले नगद र बोनस सेयर दिने भएका छन् । तर केही कम्पनीले भने नगद लाभांश नदिइ बोनस सेयर मात्रै दिने प्रस्ताव गरेका छन् ।

नगद लाभांश नदिने कम्पनीमा उन्नती सहकार्य लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, माहुली सामुदायीक लघुवित्त, स्वरोजगार लघुवित्त, मिर्मिरे लघुवित्त, वमी लघुवित्त, सुर्योदय लघुवित्त, मनकामना र कालिका लघुवित्त वित्तीय संस्था छन् ।


क्लिकमान्डु