अब अर्को कम्पनीको मोबाइलमा फोन गर्दा १० पैसामात्रै अतिरिक्त शुल्क लिन पाइने



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक सेवा प्रदायकको मोबाइल नेटवर्कबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने अन्तरआवद्धता शुल्क घटाएको छ ।

अब कुनै पनि एक मोबाइल सेवा प्रदायकबाट अर्को मोबाइल सेवा प्रदायकको नेटवर्कमा फोन गर्दा १० पैसामात्र अतिरिक्त शुल्क लिनपाइने छ ।

यसअघि यस्तो शुल्क ५४ पैसा थियो । यसलाई ४४ पैसा घटाएर १० पैसामा झारिएको प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

प्राधिकरणले ‘अन्तरआवद्धता निर्देशिका २०७६’ जारी गर्दै माघ १ गतेदेखि उक्त नियम लागू गरेको हो ।

अन्तरआवद्धता शुल्क भनेको नेपाल टेलिकमबाटे सिमबाट एनसेल वा एनसेलको सिमबाट नेपाल टेलिकमको सिममा गर्दा लाग्ने शुल्क हो ।

सामान्य मोबाइल शुल्कबाहेक टेलिकम अपरेरटरले आफ्ना नेटवर्क बाहिरको कुनै पनि नेटवर्कमा फोन गर्दा थप शुल्क लिने गरेका छन् ।


क्लिकमान्डु