८० अर्बको बैंक बनाउने योजना फेल भयो: इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे



काठमाडौं । लामो समयको प्रयासपछि ०७८ बैशाखमा दुई ठूला बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर भयो।

हिमालयनका तत्कालीन अध्यक्ष तुलसीराम गौतम र इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जरसम्बन्धी उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बैंकको नाफा हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भएको थियो ।

यी दुई बैंकले आपसमा गाभिने सझदारी गरेसँगै नेपालको वित्तीय क्षेत्रमा ठूलो तरंग पैदा भयो । त्यसअघि डेढ सय वटा भन्दा बढी संस्थाहरु मर्जर तथा एक्विजेशनमा सहभागी भएपनि हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर अहिलेसम्मकै ठूलो थियो ।

लामो समयदेखि नम्बर वान रहेको नविल बैंकले आफ्नो ताज खोसिने डरले अत्तालियो । नम्बर वानको आफ्नो विरासत जोगाइराख्न नविलले यसैसाता एनबी बैंकलाई एक्वायर गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्यो । संयोग पनि यस्तो मिल्यो कि अघिल्लो दिन नविलले एनबीलाई एक्वायर गर्ने समझदारी गर्यो । भोलिपल्ट हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा नजाने निर्णय गर्यो ।

हिमालयन बैंकले मर्जर भाँडेपछि इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले दुख व्यक्त गरे ।

‘मर्ज हुन्छ भनेर दिनरात काम गरियो, हामीले धेरै कुरा कम्प्रमाइज पनि गर्यौं,’ अध्यक्ष र सीइओ दुबैले क्लिकमाण्डूसँग भने, ‘तर हिमालयन बैंकले अहिले आएर धोका दिँदा दुख लागेको छ ।’

यसैसाता सञ्चालक समितिको बैठक बसेर नयाँ रणनीति बनाएर अघि बढ्ने योजना रहेको उनीहरुले सुनाए ।

‘मर्जरमा जाने भनेर शाखा नखोली बसियो, निक्षेप संकलन र कर्जा प्रवाहमा पनि सुस्त गतिमा काम गरियो,’ उनीहरुले भने, ‘एक वर्षदेखिको मिहेनत खेर गयो । अब नयाँ रणनीति बनाएर अघिबढ्छौं ।’

आफूहरुले मर्जरका लागि हदैसम्मको सेक्रिफाइस गरेको उनीहरुको भनाइ छ ।

‘हिमालयन बैंकले रोजेकै कम्पनीबाट डीडीए गराएको हो । दुई पटक डीडीए गराउँदा पनि मान्यौं । भ्यालुएसन पनि हिमालयन बैंकले रोजेकै कम्पनीलाई गर्ने जिम्मा दिएका थियौं । यस्तो नहोस् भनेर । वास्तवमा भन्ने हो भने हामीले धेरै कम्प्रमाइज गरेर पनि बिग्रिएको हो जस्तो लाग्छ,’ उनीहरुको भनाइ छ ।

मर्जर भयो भने बैंक सबैभन्दा ठूलो हुन्छ र अरु १-२ वटा साना बैंक लिएर ७०/८० अर्ब रुपैयाँको बैंक बनाउने सपना रहेको अध्यक्ष पाँडेले बताए ।

‘७०/८० अर्बको बैंक बनाउने सपना फेल खायो । ठूलो बैंक बनाउने कोशिस गरेकै हो । सफल भएनौं । अब ससाना बैंक खोजेर गाभ्ने हो । हामी हाम्रो उदेश्यमा दृढ छौं,’ उनले भने ।

सरकार परिवर्तनको असर मर्जरमा देखिएको उनको भनाइ छ ।

अध्यक्ष पाँडेको भनाइ जस्ताको त्यस्तै

पहिलेकै सरकार भएको भए यतिखेरसम्म हामीले एकीकृत कारोबार गरिसकेका हुन्थ्यौं । अहिलेका मन्त्रीलाई मनोजबहादुर र प्रचण्डबहादुरहरुले गलत ब्रिफ गरे । उनीहरुको कुरालाई मन्त्रीले पनि पत्याएको देखियो । अनावश्यकरुपमा एफपीओको कुरा चर्काइयो । कर्मचारी सञ्चय कोषलाई अख्तियार लगाएर तर्साइयो । सरकार परिवर्तन नभएको भए शतप्रतिशत मर्ज हुन्थ्यो ।

जुन मान्छेलाई मैले सेयर दिएर हिमालयन बैंकमा भित्र्याएँ । उनीहरु नै अहिले मर्जरको विपक्षमा उभिए । मनोजबहादुरहरुलाई मैले नै हिमालयन बैंकको २० प्रतिशत दिएको हुँ । २० प्रतिशतको सेयरधनी भए पनि उनीहरु सँधै अध्यक्ष हुन्छन् । उनीहरुले ८० प्रतिशत सेयरधनीलाई डोमिनेट गर्छन् ।

ठूलो मर्जर गर्न त्यति सजिलो थिएन । कसको सिस्टम प्रयोग गर्ने भन्ने निष्कर्श निकाल्नै ३ महिना लागेको थियो । यसमा पनि हामीले कम्प्रमाइज गरिदियौं । सीइओ पनि हिमालयन बैंकलाई नै दियौं । नाम पनि हिमालयनको अगाडि आउने गरेर हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सझदारी भएको थियो । डीडीए र भ्यालुएशन गर्ने जिम्मा पनि हिमालयन बैंकले रोजेकै कम्पनीलाई दियौं । ३ ३ पटकसम्म डीडीए गराउँदा पनि हामीले मानिदियौं । मैले मर्जर होस् भनेर यतिधेरै कुरामा सेक्रिफाइस गरेँ कि तर उनीहरुले एउटा कुरामा पनि सेक्रिफाइस गरेनन् । संकुचित सोच भएकाले संकुचित तरिकाले सोच्नु अस्वाभाविक पनि होइन । म त फराकिलो सोच भएको मान्छे हुँ । नेपालको बैंकिंगमा मैले नै हो क्रान्ति गरेको ।

अहिलेको मेरो भिजन के थियो भने वाणिज्य बैंकको संख्या ७ ८ वटा मात्रै बनाऔं । जसले आउटरिच पनि बढाउँछ । र, बैंकहरुलाई पनि सबल र सक्षम बनाउँछ । अब बैंकको संख्या नघटाउने हो भने धेरै गाह्रो छ । किनभने प्रविधि दिनानुदिन महंगो बन्दै गइरहेको छ । प्रविधिमा कम्प्रमाइज गरेर बैंकिंग चल्नै सक्दैन । तसर्थ, बैंकको संख्या घटाएर ठूला र बलिया बैंक बनाउनु अत्यावश्यक भइसकेको छ ।

मैले हिमालयन बैंक छोड्दा दोस्रो नम्बरको बैंक थियो । अहिले अन्तिमबाट तेस्रो छ । यतिसम्म अहिले त सेयर बचेर नाफा देखाउने अवस्थाा पुग्यो । इन्भेष्टमेन्ट बैंकले पनि सोचेजति काम गर्न सकिरहेको छैन । ठूलो र पूरानो भएर पनि अहिले हामी केही पछि पर्दै गएको तीतो यथार्थलाई हामीले स्वीकार गर्नै पर्छ । त्यसैले हामी मर्जरमा गएर धेरै ठूलो बैंक बनाउन चाहन्थ्यौं । बैंकिंगमा अर्को क्रान्ति गर्न चाहन्थ्यौं ।

लामो समयदेखि कुराकानी भएपनि पछिल्लो एक वर्ष दिनरात लगाएर गरेको मिहेनत खेर गएको छ । यसले हामीलाई ठूलो शिक्षा पनि सिकाएकाको छ । हामी हाम्रो अभियानबाट बिचलित हुने छैनौं । अब एक महिनाजति रिल्याक्स गर्छु । त्यसपछि बिस्तारै अरु साना वाणिज्य बैंक र विकास बैंकलाई गाभेर अघिबढ्छौं । दुखको कुरा के छ भने कुनैबेला जो मान्छेलाई मैले सेयर दिर हिमालयन बैंकमा भित्र्याएँ, अहिले उनीहरुले नै बिगारे ।


क्लिकमान्डु