अमेरिकाका लागि प्रस्तावित राजदूतलाई परिसंघको आग्रह : लगानी आकर्षित गर्न सहयोग गर्नुहोस्



काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवद्र्धन गर्न र पर्यटन प्रवद्र्धनमा जोड दिन अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ ।

परिसंघमा आयोजित छलफलमा अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकीबजारसम्म सहजपहुँच स्थापित गर्न राजदूतखत्रीसँग आग्रह गरे ।

नेपालमा प्रत्यक्ष विदेशी लगानीका लागि धेरै क्षेत्रमा सम्भावना रहेकाले त्यसको प्रवद्र्धनमा जोड दिन परिसंघले आग्रह गरेको छ । नेपालमा उत्पादन हुने तयारी पोशाक, छुर्पी जस्ता वस्तुहरूको लागि अमेरिका राम्रो बजार भएकाले त्यस्ता वस्तुको प्रवद्र्धनमा परिसंघले जोड दिएको छ ।

छलफलमा परिसंघका अध्यक्ष अग्रवालले नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेकाले स्तरोन्नतीसँगै कटौतीहुने व्यापार सुविधा पुरानै अवस्थामा कायम राख्न पहल गर्न आग्रह गरे ।

अध्यक्ष अग्रवालले गुणस्तरीय पूर्वाधार निर्माण गर्नु नेपालको आवश्यकता भएको भन्दै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको सम्झौता संसदबाट अनुमोदन गराइ कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए ।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको पर्यटन प्रवद्र्धन हुने गरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको पहल गर्न खत्रीसँग आग्रह गरे ।

छलफलमा प्रस्तावित राजदूतखत्रीले आर्थिक मुद्दामा परिसंघसहित निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकीबजारसम्मको सहजपहुँचकालागि पहल गर्ने उल्लेख गरे ।


क्लिकमान्डु