सरकारले निजी क्षेत्रको एकतर्फीरुपमा चरित्र हत्या गर्योः महासंघ



कामाडौं । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गरेको छ ।

पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको हो’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्पm महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ ।’

प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै अन्यथा नलिंने भन्दै त्यसको सत्यतथ्य खोजी गर्न माग गरेको छ । स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत नभएको महासंघको दाबी छ ।
सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने महासंघको भनाई छ ।

महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षमा रहेको भन्दै विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा महासंघ प्रष्ट रहेको जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघले ध्यानाकर्षण गराएको छ ।


क्लिकमान्डु