डोल्मा इम्प्याक्ट फन्डले फूडमाण्डूमा ४६ करोड लगानी गर्ने



काठमाडौं । नेपाली स्टार्टअप कम्पपनी फूडमाण्डू र डोल्मा इम्प्याक्ट फन्डबीच ४ मिलियन डलर अर्थात् ४६ करोड रुपैयाँ फन्डिङका लागि सम्झौता भएको छ । फूडमाण्डूमा ४६ करोड रुपैयाँ लगानीका लागि सम्झौता भए पनि अन्तिम स्वीकृति भने भइसकेको छैन ।

फूडमाण्डू नेपालको सबैभन्दा पुरानो र ठूलोमध्येको एक फूड डेलिभरी कम्पपनी हो । जसले हाल ८ सयभन्दा रेष्टुराँबाट दैनिक ३ हजारभन्दा बढी ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ । फूडमाण्डूले हाल काठमाडौं, भक्तपुर र लिलतपुरका साथै पोखरामा पनि सेवा उपलब्ध गराउँदै आएको छ । फूड डेलिभरीका साथै कम्पनीले ग्रोसरी तथा बेभरेज पनि डेलिभरी गर्दै आएको छ ।

फुडमाण्डूको अलिहेको व्यवसायलाई आक्रमक रुपमा विस्तार गर्न नयाँ लगानीको लागि सम्झौता भएको फुडमाण्डू संचालक मनोहर अधिकारीले बताए । यो लगानीले अहिलेको व्यवसायलाई अझ तीव्ररुपमा फैलाउने उनले बताए ।

‘केही नयाँ भर्टिकलहरु पनि आउँछन्,’ उनले भने, ‘हामीले फुडसँग सम्बिन्धि केही सेवाहरु थप्ने योजनामा छौं ।’

यस्तै फुडमाण्डूले अन्य सहरमा पनि विस्तारको लागि योजना बनाएको छ । अहिले काठमाडौं उपत्यका र पोखरामा सेवा दिइरहेको छ । यो लगानी भित्रिएसँगै अन्य मुख्य सहरमा जाने योजना रहेको अधिकारीले बताए ।

फुडमाण्डूमा अहिलेसम्म ८ सय रेष्टुराँ जोडिएका छन् । फुडमाण्डूले फुडबाहेक दुई वर्षदेखि ‘फुडमाण्डू ग्रोसरी पनि सञ्चालन गरिरहेको छ ।

फूडमाण्डूमा डोल्माको लगानी तेस्रो र हालसम्मकै ठूलो लगानी हो । साथै भविष्यमा थप लगानी समेत हुन सक्ने डोल्पाको भनाइ छ । यसअघि फूडमाण्डूमा ट्रयु नर्थ एसोसिएटस र टीम भेञ्चरले क्रमशः सन् २०१६ र सन् २०२० मा लगानी गरिसकेका छन् ।

फूडमाण्डूले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउनुका साथै आगामी ५ वर्षभित्रमा हजारौं नेपालीहरुलाई रोजगारी दिने उद्देश्य लिएको छ ।


क्लिकमान्डु