इजरायल सरकारद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ल्याव सहयोग



काठमाडौं । इजरायली सरकारले महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ ।

बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई ल्याब हस्तान्तरण गरेका छन् ।

ल्यावमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरु सँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिहरुको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ ।

‘हाईटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सिप आदान प्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महाविर पुनले बताए । उक्त ल्यावलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिहरुका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उनले बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरुको जीवन पद्धतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधीमा भएका परिवर्तनहरुको अध्ययन आवश्यक रहेको बताए । इजरायलले नेपालमा प्रविधिसहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उहाँले खुशी व्यक्त गरे ।

२० जनाको क्षमता रहेको ल्यावमा ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।


क्लिकमान्डु