९५ प्रतिशत यात्रुले कोरोनाविरुद्धको खोप लगाएका छन्ः बुध्द एयर



काठमाडौं । नेपालमा हवाई यात्रा गर्नेमध्ये ९५ प्रतिशत यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाएको पाइएको छ ।

बुद्ध एयरले उडान गरिरहेका गन्तव्यमार्फत् गरेको एक सर्वेक्षण अनुसार अधिकांश यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका छन् ।

१८९५ यात्रुहरुमाथि गरिएको सर्वेक्षणमा १७९३ जना यात्रुहरुले खोप लगाईसकेका छन् । यस अनुसार खोप लगाईसकेका यात्रुहरुको संख्या ९५ प्रतिशत हाराहारी हुन्छ।

बुद्ध एयरका पनि सम्पूर्ण कर्मचारीले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफूहरूले पूर्ण सावधानीका साथ सेवा दिइरहेकाले सेवा निरन्तर हुने बताए ।

‘पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो । जानकारी थिएन । यसमा अध्ययन भएको थिएन। हामीले यसअघि दुईपटक उडान बन्द पनि गरेका छौं। तर अब त्यसरी हुँदैन । हामीसँग तथ्यांक पनि छ । अब हामीसँग अनुभव पनि भएको छ । पूर्ण सावधानीका साथ हामी हवाईसेवा सञ्चालन गरिरहेका छौं,’ बस्नेतले भने ।

पहिलो लकडाउनको समयमा बुद्ध एयरले कोरोनाविरुद्ध निर्देशिका बनाएर पूर्वअभ्याससमेत गरेको थियो । आफ्ना सबै कर्मचारीलाई विश्व स्वास्थ्य संगठन तथा नागरिक उड्डयन प्राधिकरणको निर्देशिका अनुसार सम्पूर्ण सुरक्षाका उपायका अपनाएर पिपिई, मास्क तथा तालिम प्रदान गरेको थियो।

त्यस्तै संक्रमणरहित सरसफाईका लागि फग मेशिन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका केमिकलको प्रयोग निरन्तर भइरहेको बस्नेतले बताए। उनले हरेक उडानपूर्व जहाजको सरसफाईलाई अनिवार्य बनाएको बताए।

हवाई उडान संक्रमणरहित भएको विभिन्न अध्ययनबाट पनि पुष्टि भएको छ। एटीआर जहाजमा प्रत्येक तीन मिनेटमा पुरानो हावा विस्थापित हुँदै स्वच्छ हावा प्रवाह हुने गरेको छ। हावाको वहाव संक्रमणरहित हुने गरेको एटीआर कम्पनीले पुष्टि गरिसकेको छ।

प्रवन्ध निर्देशक बस्नेतले बुद्ध एयरमा यात्रा गर्ने यात्रुले ढुक्क भएर यात्रा गर्न पाउने दाबी गरेका छन्।
‘हाम्रो उडान संक्रमणरहित छ, यहाँहरू ढुक्कका साथ उडान गर्नसक्नुहुन्छ’, उनले भने।

त्यसैगरी यात्रुहरुले पनि कोभिडविरुद्धको प्रोटोकलअनुसार सहयोग गर्न उत्तिकै अनिवार्य रहेको बस्नेतले बताए ।

सुरक्षा चेकजाँचदेखि ब्यागेज नबुझेसम्म यात्रा अवधिभर मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ। त्यस्तै नियमित अन्तरालमा सेनिटाईजको प्रयोग गरिराख्नुपर्ने बुद्ध एयरले विज्ञप्तिमार्फत यात्रुहरुलाई अनुरोधसमेत गरेको छ ।

buddha


क्लिकमान्डु