जीवन बीमा कम्पनीले पनि नगद लाभांश वितरण गर्न नपाउने



काठमाडौं । जीवन बीमा कम्पनीले पनि नगद लाभांश वितरण गर्न नपाउने भएका छन् ।

बीमा समिमिते सबै जीवन बीमा कम्पनीलाई परिपत्र जारी गर्दै नगद लाभांश वितरणमा रोक लगाएको हो ।

समितिले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा कम्पनीलाई आइपर्नसक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सवल बनाउनका लागि भन्दै नगद लाभांश वितरण नगर्न भनेको हो ।

समितिका अनुसार जीवन बीमा कम्पनीले अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि नगद लाभांश वितरण गर्न नपाउने भएका हुन् ।
कम्पनीहरुले बोनस सेयर भने वितरण गर्न पाउनेछन् ।

‘नगद लाभांश बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि बाहेक) घोषणा तथा वितरण नगर्न अनुरोध गरिन्छ,’ समितिद्वारा जारी परिपत्रमा उल्लेख छ ।

समितिले यसअघि नै निर्जीवन बीमा कम्पनीलाई पनि नगद लाभांश वितरणमा रोक लगाइसकेको छ ।

निर्जीवनतर्फ प्रिमियरको लाभांश संशोधन
निर्जीवन बीमा कम्पनी तर्फ दुई कम्पनीले मात्रै आर्थिक वर्ष २०७७०७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

प्रिमियर इन्स्योरेन्स र हिमालयन जनरलले आर्थिक वर्ष २०७७०७८ को मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन् ।

यी दुई कम्पनीले बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाउनुअघि नै लाभांश घोषणा गरेका थिए ।

समितिले प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन गरेको छ । प्रिमियर इन्स्योरेन्सले बोनस सेयर ७.५ प्रतिशत र नगद लाभांश ७.५ प्रतिशत दिने प्रस्ताव गरेको थियो ।

समितिले कम्पनीलाई बोनस सेयर १४.२५ प्रतिशत र नगद ०.७५ प्रतिशत लाभांश दिने स्वीकृतत दिएको छ ।

हिमालयन जनरलले ६.६५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट भने कुनैपनि जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छैनन् ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट भने ६ वटा कम्पनीहरुले मात्रै लाभांश प्रस्ताव गरेका छन् । एलआईसी नेपाल, एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफले लाभांश प्रस्ताव गरेका हुन् ।

प्राइम लाइफ, सूर्या लाइफ र रिलायन्स लाइफले प्रस्तावित लाभांश साधारण सभाबाट समेत पारित गरिसकेका छन् ।

यस्तै, एशियन लाइफको लाभांश वितरण गर्ने प्रस्तावलाई पनि बीमा समितिले स्वीकृति दिइसकेको छ । एशियनले लाभांश पारित गर्नका लागि साधारण सभा समेत आह्वान गरेको छ ।

एलआईसी नेपालको २० प्रतिशत बोनस शेयर १.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

ज्योति लाइफले भने ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद गरी १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यी कम्पनीको लाभांश बीमा समितिबाट स्वीकृत हुन बाँकी छ ।

समितिले प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन गरेसँगै ज्योति लाइफको लाभांश पनि संशोधन हुने देखिन्छ ।


क्लिकमान्डु