साना तथा घरेलु उद्योगको संरक्षण गर्ने राज्यको नीति खोई ?: गौरब काफ्लेको विचार



म महिनामा एकपटक जसो साना तथा घरेलु उद्योग सञ्चालन गर्ने सिर्जनशील उद्यमीकहाँ पुग्दै आएको छु । यसै सिलसिलामा शनिबार विदाको दिन म मखमल ढाका जुत्ता चप्पल सञ्चालन गर्दै आएकी र सानो उमेरमै हस्तकलालगायतका अन्य साना व्यवसाय सञ्चालन गर्दै आएकी प्रतिक्षा महतोलाई भेट्ने अवसर पाएँ ।

‘सर नमस्कार’ म पुग्ने वित्तिकै बहिनीले भनिन् ।

मैले पनि नमस्कार फर्काए ।

उनले सञ्चालन गरेको व्यवसाय एकपटक अवलोकन गरेपछि मैले भने, ‘सामान त गोदाममा केही पनि छैन, काम गर्ने दिदीबहिनीहरु पनि हुनुहुन्न, किन के भयो ? ।’

‘सर अचेल मेसिनबाटै बनेका सामान बिक्री हुन थाले, हातले बुनेका सामानमा मानिसहरुको रुचि कम हुन थाल्यो । फेरि हामीहरु यो सामान विदेशसम्म पनि त लैजान सक्दैनौं,’ महतो बहिनीले जवाफ फर्काइन् ।

व्यापार नहुँदा बैंकबाट लिएको कर्जाको ब्याज तिर्न हम्मेहम्मे परेको उनले सुनाइन् ।

‘काम गरिरहेका ५ जना कर्मचारी पनि निकाल्नु पर्यो । कच्चा पदार्थ किन्न पैसा पनि भएन । अब व्यवसाय नवीकरण पनि गर्दिन होला,’ उनले सुनाइन् ।

एउटा सिर्जनशिल र उद्यमी बन्दै गरेकी ती बहिनीको कुराले म स्तब्ध भए । सोँचे उनी जस्ता कति हजार संख्यामा होलान जसले यसै गरी केही गर्छु भन्दा निराशा मात्रै हात लागेको होला ?

उनीहरु उद्योग व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेका छन् । कति घरेलु तथा साना उद्योग सञ्चालन चाहेर पनि विभिन्न कारणले गर्न सकेका छैनन् । तर उनीहरुको सीप र जाँगरलाई उद्यममा परिणत गर्नुपर्नेमा सरकार मुखदर्शक मात्रै बनेको छ ।

बिकाससँग प्रत्यक्ष भूमिका खेल्ने यस्ता घरेलु तथा साना उद्योग फस्टाउन नसकेको अवस्था छ । घरेलु तथा साना उद्योग विकासको नीतिगत प्रष्टताको अभावको कारण हो । जसले गर्दा सहजरुपमा कर्जा पाउन, उत्पादनलाई बजारीकरण गर्ने लगायतका विविन्न कारणले यस्ता उद्योगहरुको संख्या कम हुँदै गएको छ ।

घरेलु तथा साना उद्योगको एकमुष्ट विकास गर्ने उद्देश्यले सरकारले २०४७ सालमा छाता संगठनको स्थापना गर्दै मुलुकभर सञ्जाल बिस्तार गरिएको थियो । तर छाता संगठनको समेत प्रभाववकारी भूमिका नहुँदा अपेक्षाकृत विकास हुन सकेको छैन ।

राष्ट्रको स्पष्ट लगानी सम्बन्धी नीति नहुनु, राजनीतिक दलको आर्थिक समृद्धिका लागि लगानीको स्पष्ट खाका नहुनु, वित्तीय क्षेत्रहरु जस्तो बैक, फाइनान्स, लघुवित्त सहकारीले उद्यमीलाई कर्जामा चर्को ब्याज लिनु तथा सरल र सहज रुपमा न्यून ब्याजदरमा बिना धितोमा कर्जा प्रवाह नगर्नु पनि हो । जसले गर्दा उद्योगीहरु स्थापित हुनुको साटो बिस्तापित हुन बाध्य भएका छन् ।

नेपाल जस्तो अल्पविकसित राष्ट्र बिकासको बाटोतर्फ अघि बढिरहेको छ । यहाँको भौगोलिक विकटता, यातायात, सञ्चारको अभाव, दक्ष जनशक्ती, लगानी पुँजी वैज्ञानिक एवम् आधुनिक प्रविधि, शिक्षा र सीपको अभाव छ । यद्यपि कछुवाको हिँडाइमा यी घरेलु तथा साना उद्योगहरु सञ्चालित छन् ।

घरेलु तथा साना उधोग सञ्चनलनमा वृद्धिका लागि लगानीको प्रतिफलको सुरक्षा, लगानीको राम्रो वातावरण, बजारको व्यवस्था, सहुलियत क्रणको व्यवस्था, मुलुकलाई औद्योगिकिकरणतर्फ उन्मुख गराउने, राज्यले घरेलु तथा साना उद्योग सम्बन्धी स्पष्ट नीति बनाएर नियमित परिमार्जित र कार्यान्वयन गरेमा स्थानीय स्रोत र साधनको दिगो सरक्षण गर्दै समुचित प्रयोगका साथ अघि बढेमा मात्रै उद्योग आर्थिक रुपान्तरणको सम्बाहक बन्नेछ । र, हामी नेपाली गरिबीको दलदलबाट निस्केर सुखी जीवन जीउन सक्छौं ।


क्लिकमान्डु