कोरोना: सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका स्थायी र अस्थायी सबै पास खारेज



काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण उच्च भएसँगै सिंहदरबार प्रवेशमा कडाइ गर्ने भएको छ ।

बुधबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै हाल सबै मन्त्रालयले, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने निर्णय गरेको छ ।

साथै, अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास अस्थायी परिचयपत्र जारी गर्नु परेमा आवश्यकता हेरी सम्बन्धित मन्त्रालयले गृहमन्त्रालयको पूर्व सहमति लिइ जारी गर्नुपर्नेछ ।

सूचना अनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिको हकमा यसअघि जारी भएका पास, अस्थायी परिचयपत्रबाट नै प्रवेश गर्न पाइनेछ ।

गृहमन्त्रालय पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा मात्रै प्रवेश गर्न दिने भनेको छ ।

सिंहदरबारभित्र सञ्चालनमा रहेका चमेना गृहको हकमा पुस २९ गतेदेखि १ दिनका लागि यस पूर्व जारी भएका पास, अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने र पुस ३० गतेदेखि नयाँ पास आवश्यक पर्नेछ ।


क्लिकमान्डु