प्रदेश नम्बर २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने



जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन् ।

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताए ।

‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ,’ मन्त्री साहले भने, ‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसदबाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।’

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने उनले विश्वास व्यक्त गरे ।

शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम शुरु गरेको बताउँदै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताए ।

केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी नियुक्त

प्रदेश २ सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ ।

प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले अन्सारीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

विगतमा सङ्घीय सरकार मातहत रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश मातहत आएपछि त्यसलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र नाम दिएर मुख्यमन्त्री कार्यालयको मातहत राखिएको छ ।

केन्द्रको कार्यकारी निर्देशक पदका लागि तीन जना प्रतिस्पर्धी सिफारिस भए पनि विभिन्न निकायमा राम्रो कार्य अनुभव भएका अन्सारीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता साहले बताए ।


क्लिकमान्डु