१५ जीवन बीमा कम्पनीको एक्चुरी भ्यालुएसन स्वीकृत, ४ कम्पनी पाइपलाइनमा



काठमाडौं । बीमा समितिले १५ जीवन बीमा कम्पनीको एक्चुरी भ्यालुएसन स्वीकृत गरेको छ ।

समितिले १५ जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन स्वीकृत गरेको हो ।

बीमा समितिका अनुसार रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, एशियन लाइफ, मेट लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ, नेपाल लाइफ, सन नेपाल लाइफ र यूनियन लाइफको एक्चुरी भ्यालुएसन स्वीकृत भएको हो ।

चार बीमा कम्पनीको भने एक्चुरी भ्यालुएसन स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जानकारी दिएको छ ।

गुराँस लाइफ, रियायबल नेपाल लाइफ, सानिमा लइफ र राष्ट्रिय बीमा संस्थानको एक्चुरी भ्यालुएसन स्वीकृत हुने प्रक्रियामा रहेको हो ।

बीमा ऐनअनुसार जीवन बीमा कम्पनीले ३ वर्षमा एक पटक एक्चुरी भ्यालुएसन गर्नुपर्ने व्यवस्था छ । तर, बीमा समितिद्वारा जारी निर्देशिकाले भने प्रत्येक वर्ष एक्चुरी भ्यालुएसन गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, आर्थिक वर्ष २०७८÷७९ चलिरहँदा जीवन बीमा कम्पनीको आर्थिक वर्ष २०७६/७७ कै एक्चुरी भ्यालुएसन स्वकीृत हुने प्रक्रियामा नै छ ।
नेपालमा एक्चुरी नभएको कारण बीमा कम्पनी र बीमा समितिलाई एक्चुरी गराउनको लागि विदेशी कम्पनीको भरपर्नुपर्ने बाध्यता छ । सोही कारणले समयमा नै एक्चुरी भ्यालुएसन गराउन नसकेको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारी बताउँछन् ।

कोभिड १९ का कारणले गर्दा पनि ढिलाइ भएको उनले बताए ।

‘ढिलो हुनुमा कोभिडको पनि कारण देखिन्छ,’अधिकारीले क्लिकमाण्डूलाई भने,‘कोभिडसँगै कम्पनीले आफ्नै एक्चुरीले भ्यालुएसन गरेर समिति पठाउनु पर्ने र समितिले पनि आफ्नो एक्चुरी कहाँ पठाउनु पर्छ । जसले गर्दा समय लाग्छ ।’

उनका अनुसार नेपालमा नै एक्चुरी नहँुदा बीमा कम्पनी र बीमा समिति नै पनि विदेशी एक्चुरीसँग भर पर्दा एक्चुरी भ्यालुएसनमा ढिलाई हुने गर्दछ ।

जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गर्न तथा बीमितलाई दिने बोनस घोषणा गर्नका लागि एक्चुरीको भ्यालुएसन गर्नुपर्छ ।

समितिबाट एक्चुरी भ्यालुएसन स्वीकृत भएका कम्पनीहरुले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु