कम्पनीको साधारणसभामा बाधक बन्यो कोरोना, धमाधम मोडालिटी परिवर्तन गर्दै कम्पनी



काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै साधारणसभा बोलाएको सूचीकृत कम्पनीको साधारणसभा अन्योलतमा परेको छ । पुस मसान्तसम्ममा दर्जनौ कम्पनीले साधारणसभा बोलाएका छन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले एक ठाँउमा २५ जनाभन्दाबढी व्यक्ति जम्मा नहुनु, कुनै सभा सम्मेलन नगर्नु भनेपछि कम्पनीहरुले साधारणसभाको मोडालिटी परिवर्तन गरेका हुन् । जसअनुसार कम्पनीहरुले साधारणसभा भौतिकरुपमा नभइ भर्चुअल माध्यमबाट गर्ने भएका हुन्

चन्द्रागिरि हिल्स लिमिटेडले भोलि ( पुस २९ गते)का लागि १२औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कार्यालय थानकोटमा साधारणसभा बोलाएको भएपनि कोरोना बढेका कारण जुममार्फत गर्ने भएको छ ।

त्यस्तै, हिमालयन पावर पार्टनर कम्पनीले पनि साधारणसभा अब भर्चुअलमाध्यमबाटै गर्ने भएको छ । पुस ३० गते शुक्रबारका लागि साधारणसभा बोलाएको भएपनि कोरोना भाइरसको संक्रमण बढेको भन्दै अब भर्चुअलरुपमा साधारणसभा गर्ने भएको छ ।

त्यसका लागि यूजर नेम र पासवर्ड साधारणसभा शुरु हुनुभन्दा १ घन्टाअघि कम्पनीको वेवसाइटमा राख्ने जानकारी गराएको छ ।

साधारणसभामा कोही भौतिकरुपमा आउने हो भने कोरोना विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य ल्याउने पर्ने कम्पनीले जानकारी गराएको छ ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पुस २९ गतेका लागि बोलाएको साधारणसभा पनि भर्चुअल रुपमा गर्ने भएको छ ।

कम्पनीले सेयरधनीहरुलाई सकभर भर्चुअलरुपमा सहभागी हुन आग्रह गरेको छ । साधारणसभामा भौतिकरुपमा उपस्थित हुने हो भने कोरोना विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य ल्याउन भनेको छ ।

साथै, गुडविल फाइनान्सले पनि पुस २९ गतेका लागि बोलाएको साधारणसभा भर्चुअलरुपमा गर्ने भएको छ । त्यसका लागि जुम आइडीको युजर र पासवर्ड उपलब्ध गराउने जानकारी गराएको छ ।

सिभिल बैंकले पनि पुस ३० गते बोलाएको साधारणसभा अब भर्चुअल रुपमा गर्ने भएको छ । भर्चुअल रुपमा सभामा सहभागी हुन चाहने सेयरधनीले साधारणसभा शुरु हुनुभन्दा २४ घन्टा अगावै परिचयपत्रसहित बैंकले जारी गरेको सेयरको प्रमाणपत्र, डिम्याट खाता खोलेको प्रमाण भाइबरमा पठाउन भनेको छ । त्यसपछि बैंकले जुम आइडी र पासवर्ड पठाउने छ ।

सानिमा जनरल इन्स्योरेन्सले पुस ३० गतेको लागि बोलाएको साधारणसभा भर्चुअल रुपमा गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्सको कार्यालयमा फोन सम्पर्क गरी भर्चुअल मिटिङ आइडी र पासवर्ड लिन आग्रह गरेको छ ।

यता सिद्धार्थ बैंकले पनि पुस ३० गतेका लागि बोलाएको साधारणसभा अब भर्चुअलमाध्यममार्फत् गर्ने भएको छ । भर्चुअलरुपमा साधारणसभा सहभागी हुनका लागि २४ घन्टा अगावै परिचयपत्रसहित बैंकले जारी गरेको सेयर प्रमाणपत्र वा डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरेर इमेल गर्न वा भाइबरमा पठाउन भनेको छ । त्यसपछि बैंकले मिटिङ आइडी र पावसर्ड उपलब्ध गराउने भएको छ ।


क्लिकमान्डु