अफगानिस्तानलाई ५ अर्ब डलरको सहायता आवश्यक, अमेरिकाले ३०० मिलियन डलर दिने



संयुक्त राष्ट्रसंघले मङ्गलबार अफगानिस्तानलाई सन् २०२२ मा मानवीय प्रकोप रोक्न र ४० वर्षको पीडापछि भत्किएको देशलाई भविष्य निर्माणका लागि पाँच अर्ब डलर सहायता आवश्यक रहेको जनाएको छ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानभित्र ४.४ बिलियन डलर (३.९ बिलियन यूरो) आवश्यक रहेको बताएको छ । साथै थप ६२३ मिलियन डलर आफ्नो सिमाना बाहिर आश्रयमा रहेका लाखौं अफगानहरूलाई सहयोग गर्न आवश्यक रहेको पनि उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानभित्र २ करोड २० लाख मानिस र ५ छिमेकी देशमा रहेका थप ५७ लाख विस्थापित अफगानहरूलाई यस वर्ष अत्यावश्यक राहतको आवश्यकता रहेको बताएको छ।

‘एक पूर्ण विकसित मानवीय प्रकोप देखा परेको छ। मेरो सन्देश अत्यावश्यक छ अफगानिस्तानका जनताको लागि ढोका बन्द नगर्नुहोस्,’ संयुक्त राष्ट्रसंघ सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले भनेका छन् ।

अगस्टको मध्यमा तालिबान कट्टर इस्लामी आन्दोलनले अफगानिस्तानमा आफ्नो नियन्त्रण कब्जा गरेपछि मानवीय सङ्कट गहिरिदै गएको छ ।

वाशिंगटनले देशको अर्बौं डलरको सम्पत्ति फ्रिज गरेको छ जसबाट सहायता आपूर्तिमा भारी अवरोध भएको छ।

तालिबान अधिकारीहरूले पीडित अफगानीहरूका लागि सहायता अपिल धेरै आवश्यक रहेको बताएका छन् ।

यता अमेरिकाले सन् २०२२ मा अफगानिस्तानका लागि ३०० मिलियन डलरभन्दा बढी सहयोग गर्ने भएको छ । जसमा यस वर्षको प्रारम्भिक सहायता प्याकेजमा ३० करोड ८० लाख डलरभन्दा बढी सहयोगको प्रतिबद्धता गरेको छ ।

उक्त रकमले जोखिममा परेका मानिसहरूका लागि खाना, पोषण, स्वास्थ्य सेवा सुविधा, शीतकालीन कार्यक्रम र रसद सहयोग उपलब्ध गराउने, अन्तरराष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको नियोग (युएसएआईडी)ले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।


क्लिकमान्डु