महिलाको नाममा जग्गापास गर्ने बढे



खलङ्गा । राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ ।

चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका सात गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए ।

‘गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ,’ कार्यालय प्रमुख रोकायाले भने ।

नगरपालिकाको महिलाका नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाका महिलाका नाममा जग्गा रजिस्ट्रेसन भए राजस्वमा ५० प्रतिशत छुट रहेको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन गर्ने दलित समुदाय र अपाङ्गता भएकलाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्ट्रेसन भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्म जुम्ला मालपोत कार्यालयले रु ९९ लाख ९६ हजार ५६१ राजस्व सङ्कलन गरेको छ जसमध्ये जग्गा रजिस्ट्रेसनतर्फ रु ६७ लाख ९० हजार ३१२ राजस्व सङ्कलन भएको छ ।

यस्तै, पूँजीगत लाभकरतर्फ रु ३१ लाख १८ हजार ८८३ सङ्कलन भएको छ । विविधतर्फ रु ८७ हजार ३६६ राजस्व उठेको छ ।


क्लिकमान्डु