लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको ब्रेक थ्रु



लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ ।

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो ।

पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाकाबन्दी, लकडाउनलगायत प्रभावका बाबजुद ब्रेक थ्रु गर्न सफल भएको हो ।

केही दिनअघि आयोजनाको मुख्य सुरुङको सफलतापूर्वक बे्रक थु्र गरेसँगै यतिबेला त्यहाँ ढलानकार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए ।

‘हामीले सुरुङ छेड्ने काम पूरा गरेका छौँ, यो ठूलो उपलब्धि हो, अब ढलानकार्य अघि बढिसकेकाले आगामी चार महिनाभित्रमा ढलानसमेत सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने ।

यस आयोजनाले आगामी सात–आठ महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाका प्रबन्ध निर्देशक रायमाझीको भनाइ छ । उनका अनुसार यस आयोजनाको निर्माण हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको विद्युतगृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान भइरहेको आयोजनाले जनाएको छ ।

त्यस्तै गत असारमा दोर्दीखोलामा आएको बाढीपहिराले क्षति पु¥याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनःनिर्माण भइरहेको छ । एक हजार १०० मिटर पेनस्टक पाइप जडान भइरहेको छ ।

‘हामीले सबै निर्माण सम्पन्न गर्दै यही पुसभित्रमा बिजुली उत्पादन गर्ने भने पनि विविध कारणले आगामी असारभित्रमा बिजुली उत्पादन गर्ने कार्यतालिका छ,’ आयोजनाका प्रबन्ध निर्देशक रायमाझीले भने ।

कूल ८ अर्ब ८० करोड रुपैयाँको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल सफ्ट) खन्ने काम सकिएको छ ।

इलेक्ट्रोमेकानिकल, टनेल र पावरहाउसभित्र भवन बनाउने काम भइरहेको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पीपीए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । आयोजनामा सबै गरेर ५०० कर्मचारी छन् । विसं २०७५ मा निर्माण सम्पन्न नभएपछि निर्माणअवधि थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरेको थियो ।

सो अवधिमा समेत निर्माणमा ढिलाइ भएपछि गत विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । सो समयमा पनि निर्माण नसकिएपछि यही पुस महिनाभित्र बिजुली उत्पादन गर्ने आयोजनाले जनाएको थियो ।

उनका अनुसार आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धन लगानीमा निर्माण हुँदै आएको छ ।

आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड रुपैयाँ लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पीपीए) सम्झौता भएको छ ।

पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रसहेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।


क्लिकमान्डु