निर्जीवन बीमा कम्पनीलाई नगद लाभांशमा रोक, बोनस मात्रै दिन पाउने



काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाएको छ । बीमा समितिले सोमबार निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

कम्पनीहरुलाई बोनस सेयर वितरणमा मात्रै जोड दिन निर्देशन दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
उनका अनुसार अब निर्जीवन बीमा कम्पनीले बोनस सेयर मात्रै वितरण गर्न पाउने छन् ।

निर्जीवन बीमा कम्पनीले कोरोना बीमावापतको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कोरोना बीमा वापतको दाबी भुक्तानी गर्न अझै बाँकी रहेकाले समितिले नगद लाभांश वितरणमा रोक लगाइएको समितिको भनाइ छ ।

अब निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश वितरण गर्न पाउने छैनन् ।

‘कोरोना बीमाको रकम पनि भुक्तानी भएको छैन । अहिले नगद दिनका लागि हतार नगरौं भनेका हौं,’ उनले भने, ‘बोनस सेयर जति दिए पनि हुन्छ । आफ्नो कम्पनी पनि बलियो हुन्छ ।’

उनले रिस्कबेस्ड क्यापिटलको आवश्यकता देखिएकाले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांशभन्दा बोनस सेयरतर्फ जोड दिन निर्देशन दिने तयारी भएको जानकारी दिए ।

उनका अनुसार तत्कालका लागि निर्जीवन बीमा कम्पनीलाई मात्रै यस्तो निर्देशन दिइएको हो । जीवन बीमा कम्पनीहरूको हकमा भने तत्कालै केही निर्णय नभएको उनले बताए ।

‘रिक्स बेस्ड क्यापिटल तिर जाँदै छौं । रिक्स बेस्ड क्यापिटलमा जाने भएकाले भोलिका दिनमा जति जोखिम हुन्छ त्यत्ति नै क्यापिटल हुनुपर्छ भन्ने हो,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘निर्जीवन बीमा कम्पनीलाई भनि सकेका छौं ।’

कम्पनीहरुले नगद लाभांशभन्दा बोनस सेयर दिए भने कम्पनी आफै बलियो हुँदै जाने उनको भनाइ छ ।


क्लिकमान्डु