निगमसँग साढे ४२ अर्ब ऋण असुलीका लागि लगानी कोष र सञ्चय कोषले के गर्दैछन् ?



काठमाडौं । विमान खरिद गर्दाको किस्ता तिर्न नसकेर ऋणको भारमा पिल्सिएको नेपाल वायुसेवा निगमले सरकारसँग थप १५ अर्ब रुपैयाँ माग गरेको छ ।

एकातिर ऋण तिर्न नसकिरहेको निगमले थप ऋण माग गरेपछि नागरिक लगानी कोष र सञ्चय कोषले ऋण असुलीका लागि के गर्ने भनेर मन्त्रालयसँग छलफल गरेका छन् ।

गत साता राजश्व सचिव कृष्णहरि पुष्करको नेतृत्वमा नागरिक लगानी कोष र सञ्चय कोषबीच छलफल भएको हो । जसमा पुुष्करले आफै ऋण असुली गर्न भनेका थिए ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले ऋण असुली कसरी गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल भएको र अब छिट्टै कोषको बोर्डमै विषयबारे छलफल गर्ने तयारी भइरहेको बताए ।

‘सरकार जमानी बसेको ऋण हो, यस विषयमा मन्त्रालयमा पनि छलफल भयो अब हामीले बोर्ड मिटिङमै ऋण असुलीका लागि प्रक्रियाबारे छलफल गर्नेछौं,’ नेपालले भने ।

उनले ऋण असुलीका लागि सम्पत्ति रोक्का राख्नेलगायतका विषयमा छलफल अगाडि बढाइने उनको भनाइ छ । उनले सरकारको दबाबमा तत्कालीन समयमा निगमलाई विमान खरिद गर्नका लागि ऋण दिएको उल्लेख गर्दै ऋण असुलीको प्रक्रियामा पनि मन्त्रालयसँग छलफल आवश्यक रहेको बताए ।

यता सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल सकेसम्म ऋण असुलीको प्रक्रियामा जान नपरोस भन्ने रहेको तर बाध्यता भयो भने त्यो अवस्था पनि आउन सक्ने बताए ।

‘सरकार जमानी बसेको ऋणमा सकेसम्म ऋण असुलीको प्रक्रियामा नजाऔं नै भन्ने हो,’ उनले भने, ‘तर लामो समयदेखि ऋण नतिर्दा त्यो अवस्था पनि आउन सक्छ ।’

उनले हाल वायुसेवा निगम आर्थिक संकटमा फसेकाले तत्काल ऋणको किस्ता आउन नसक्ने भएकाले जमानीकर्ताका रुपमा मन्त्रालयले नै चासो लिनुपर्ने बताए ।

निगमले पछिल्लो पटक गत वर्षको मंसिर महिनामा दुबै संस्थालाई ऋण वापतको किस्ता बुझाएको थियो । त्यसयता निगमले किस्ता वापतको रकम बुझाएको छैन ।

हाल निगमसँग कुल ऋणको भार साढे ४२ अर्ब रुपैयाँ पुगेको छ । सरकारको जमानीमा वाइड वडी र न्यारो बडी खरिद गर्नका लागि लिएको ३४ अर्ब रुपैयाँ ऋण बढेर साढे ४२ अर्ब रुपैयाँ पुगेको हो ।

नेपाल वायुसेवा निगमले वाइड बडी विमान खरिद गर्नका लागि सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको १२/१२ अर्ब रुपैयाँको ऋण लिएको थियो । साथै न्यारो बडी खरिदका लागि सञ्चयकोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो ।

अहिले त्यो ऋणको आकार बढेर नागरिक लगानी कोषलाई बुझाउन १६ अर्ब रुपैयाँ र सञ्चयकोषलाई बुझाउनु पर्ने रकम साढे २६ अर्ब रुपैयाँ नाघिसकेको छ । विमान सञ्चालन गर्ने र त्यसैबाट प्राप्त आम्दानीबाट ऋणको किस्ता तिर्दै जानुपर्नेमा वायुसेवा निगमले उल्टै सरकारसँग नयाँ विमान खरिद गर्न भन्दै १५ अर्ब रुपैयाँ माग गरेको छ ।

हाल नेपाल वायुसेवा निगमसँग जग्गा, सोल्टी होटलमा भएको सेयरको मूल्यांकन, विमानको मूल्यांकन गर्दा करिब ४८ अर्ब रुपैयाँको सम्पत्ति भएको देखिन्छ । जबकी निगमसँग ऋणको भार मात्रै साढे ४२ अर्ब रुपैयाँभन्दा बढी छ । त्यसमाथि १५ अर्ब रुपैयाँ नयाँ विमान खरिद गर्नका लागि माग गरिरहेको छ ।

हाल नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन् । जसमध्ये ७ वटा ग्राउण्डेड छन् भने सञ्चालनमा रहेका ६ वटा विमानले निगमको आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेका छन् । निगमका सबै विमानले दैनिक ५६ घण्टा उडान गर्न सक्ने क्षमता भए पनि हाल १० घण्टा पनि उडान गर्न नसकेका छैनन् ।


क्लिकमान्डु