माघभित्र तरलता अभाव हट्छ, ७% को आर्थिक वृद्धि नहुन सक्छः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले माघ महिनाभित्र तरलता अभावको समस्या समाधान हुने दाबी गरेका छन् । सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्रीले यसका लागि सरकारले काम गरिरहेको समेत बताए ।

‘कोरोना महामारीका कारण २ वर्षसम्म काम नहुँदा अहिले एकैपटक धेरै क्षेत्रमा लगानी बढेको र आयात पनि उसैगरी बढ्दा तरलतामा दबाब सिर्जना भएको हो,’ उनले भने ।

मन्त्री शर्माले बेमौसमी वर्षाका कारण ७ प्रतिशतको आर्थिक वृद्धि हुनेमा शंका उत्पन्न भएको बताए ।

मन्त्री शर्माले कोरिया जस्ता देशबाट आउने रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत् नआएको भन्दै त्यस्ता स्थानमा बैंकका शाखा खोल्न पनि आग्रह गरे । उनले जापान, इजरायलमा पनि त्यही समस्या रहेको बताए ।

उनले अहिले हल्ला भए जस्तो अर्थतन्त्र संकटतर्फ उन्मुख नभएको समेत दाबी गरे । उनले अब उत्पादनमा जोड दिनुपर्ने समेत बताए ।

उनले बैंकलाई जनताको निक्षेपमा मात्रै ध्यान नदिन बरु अन्य क्षेत्रमा पनि जानका लागि आवश्यक रहेको सुझाव दिए । उनले बैंकहरुले धेरै कमाएको संकेत गर्दै संकटका बेलामा धेरै नाफा लिन नहुने बताए ।

‘संकट परेको बेलामा उद्योग बचाउनु पर्ने हो तर बैंकले त्यसो गरेनन्,’ उनले भने ‘८ प्रतिशतको ब्याजदर ११ प्रतिशतसम्म पुर्याइयो ।’

उनले पुँजीगत खर्च बढ्ने भन्दै त्यसको चिन्ता नलिन समेत आग्रह गरे । उनले पुँजीगत खर्च बढिरहेको समेत दाबी गरे ।


क्लिकमान्डु