चालु आर्थिक वर्षको ५ महिनामा ३ करोड ३६ लाख कर फिर्ता



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिनाको अवधिमा सरकारले ३ करोड ३६ लाख ७६ हजार रुपैयाँ कर फिर्ता गरेको छ ।

अर्थमन्त्रालयका अनुसार चालु आवको मंसिरसम्ममा विभिन्न मन्त्रालयका नाममा मातहतका निकायहरुलाई कर फिर्ता गर्न रकमान्तर गरिएको हो ।

उक्त अवधिमा अर्थ मन्त्रालयको नाममा सबैभन्दा बढी कर फिर्ताका लागि रकम निकासा भएको छ । यो मन्त्रालयका लागि ३ करोड १२ लाख रुपैयाँ ५ महिनाको अवधिमा रकम निकासा भएको छ ।

त्यस्तै दोस्रोमा खानेपानी मन्त्रालयका नाममा १८ लाख रुपैयाँ निकासा भएको छ । यो मन्त्रालयको नाममा हजना एण्डो कर्पाेरेशनले निर्माण सामग्री खरिदमा तिरेको अन्तःशुल्क फिर्ता गर्ने प्रयोजनार्थ रकम निकासा गरिएको छ ।

आपूर्तिकर्तासँगको विवरण आन्तरिक राजस्व विभागबाट भिडान गरी प्रचलित कानून र स्वीकृत मापदण्ड बमोजिम खर्च लेख्ने गरी उक्त रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको नाममा २ लाख १७ हजार रुपैयाँ, गृह मन्त्रालयको नाममा १ लाख ६७ हजार, वन तथा वातावरण मन्त्रालयको नाममा १ लाख रुपैयाँ, स्थानीय तहको नाममा १ लाख २६ हजार रुपैयाँ र स्वास्थ्य मन्त्रालयका नाममा ६२ हजार रुपैयाँ कर फिर्ता गर्न रकमान्तर गरिएको छ ।


क्लिकमान्डु