‘चाँदीको खाट बनाएर सुतेका छन् र आयात यसरी बढेको हो ?’



काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति भरत शाहले चाँदीको आयात अस्वभाविक रुपमा बढेको भन्दै प्रश्न उठाएका छन् । आइतबार लेखा समितिको बैठकमा बोल्दै शाहले चालु आर्थिक वर्ष ४ महिनामा चाँदीको आयात किन बढेको भन्दै प्रश्न गरेका हुन् ।

‘चालु आर्थिक वर्षको ४ महिनामा अघिल्लो आवको चाँदीको आयात ९८२.१ प्रतिशतले बढेको छ । चाँदीको खाट बनाएर सुतेका छन् कि के हो ? आयात किन यसरी बढिरहेको छ,’ समितिको आइतबार बसेको बैठकमा शाहले भने, ‘सरकारले यसबारेमा हेर्नुपर्याे ।’

चालु आर्थिक वर्षको ४ महिनामा १ लाख २६ हजार ३४२ केजी चाँदी आयात भएको छ ।

नेपालमा भारतमा भन्दा चाँदीको भन्सार महसुल प्रतिकेजी २ हजार २ सय रुपैयाँ सस्तो हुँदा चाँदीको आयात बढ्नुका साथै नेपालबाट भारततर्फ चाँदीको तस्करी पनि बढेको हो ।

बैठकमा अर्थमन्त्रालयका सचिव मधु मरासिनीले चाँदीको आयातमा अनपेक्षित वृद्धि भएपछि सरकारले चाँदी आयातमा लाग्ने कर बढाएको बताए ।

‘विगतको तुलनामा चाँदीको आयात निकै धेरै देखियो,’ मरासिनीले भने, ‘हामीले अध्ययन गर्दा प्रति १० ग्राममा भारतमा भन्दा २२ रुपैयाँ भन्सार सस्तो पायौँ । त्यसपछि हामीले गत कात्तिकमा भन्सार महसुल वृद्धि गर्याै । र, मंसिरमा ५ हजार केजी मात्र चाँदी आयात भएको छ ।’

सार्वजनिक लेखा समितिले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा समिति सभापति शाहले उच्च दरमा आयात बढ्दा अर्थतन्त्र समस्यामा परेको बताए ।

‘नेपालीले खासै प्रयोग नगर्ने पाम आयलको आयात १ हजार ५१.३ प्रतिशतले वृद्धि भएको छ । नेपालबाट निर्यात हुँदा खासै भ्यालु एड पनि भएको देखिँदैन यस्तो वस्तु डलर तिरेर हामीले किन आयात गरिरहेका छौँ ?’, उनले भने ।

जवाफमा अर्थ सचिव मरासिनीले नेपाली अर्थतन्त्रलाई लाभ हुने बाहेक वस्तुको आयतका कडाइ गरिएको भन्दै पाम आयलमा २० देखि ३० प्रतिशतसम्म भ्यालु एड हुने गरेको दाबी गरे ।

गभर्नर र अर्थसचिवको फरक मत
बैठकमा वर्तमान आर्थिक अवस्थाको जानकारी गराउने क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ६.५ प्रतिशतमा मुल्यवृद्धि राख्नु र ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्याउन चूनौतीपूर्ण रहेको बताए ।

‘अहिलेको आर्थिक गतिविधि र तथ्यांक हेर्दा मूल्यवृद्धि लक्ष्यभित्र छ । तर, यो वर्ष निर्वाचन पनि हुँदैछ । यस्तै मंसिरको तथ्यांक पनि हामी विश्लेषण गरिहेका छौं,’ उनले भने ‘विगतको अनुभवबाट पनि मूल्यवृद्धि लक्ष्यभित्र रहँदैन् भन्ने हो ।’

यस्तै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा आन्तरिक अर्थतन्त्र चलायमान गराउन भन्दा पनि आयातमा प्रयोगमा भएकाले अर्थतन्त्रमा केही समस्या देखिएको अधिकारीको भनाइ छ ।

राष्ट्र बैंकको इतिहासमा नै पहिलो पटक आफूहरुले धेरै भन्दा धेरै उपकरण प्रयोग गर्दै बजारमा रकम प्रवाह गरेकाले अर्थतन्त्र स्थिर बन्दै गएको बताए ।

तर, अर्थसचिव मरासिनीले अर्थतन्त्र दबाबमा परेपनि संकटमा नभएको भन्दै लक्ष्यअनुसारको आर्थिक बृद्धि हुने दाबी गरे ।

‘बढ्दो आयात समस्या हो । राजस्व घट्न सक्छ भन्ने थाहा छ,’ मरासिनीले भने, ‘अर्थतन्त्रलाई नियन्त्रणमा राख्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्ने व्यवस्था गरेका छौं । माघपछि पुँजीगत खर्च पनि बढ्ने हाम्रो विश्वास छ । त्यसैले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ ।’

बैठकमा सांसद राजन केसी, अमनलाल मोली, मोहन आचार्य, पार्वती डिसी, पार्वती विसंखेलगायतले अर्थतन्त्र समस्यामा छ वा छैन घुमाएर नभई स्पष्ट जवाफ दिन माग गरेका थिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी र अर्थसचिव मरासिनीले एकै स्वरमा चालु आर्थिक वर्षको ५ महिनामा उच्च दरमा आयात बढेकाले अर्थतन्त्र दबाबमा परेको बताए । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले आवश्यक कदम चालिसकेकाले अर्थतन्त्र संकटमा छ भन्न नमिल्ने अधिकारी र मरासिनीको तर्क छ ।


क्लिकमान्डु