गाउँमै चिनी उद्योग खुलेपछि किसान हर्षित, भारतीयलाई बेच्नुपर्ने बाध्यता हट्यो



महेन्द्रनगर । एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त छिन् ।

‘१५ कट्ठा जग्गामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्पर्कबिहीन बने,’ चौधरीले भनिन्, ‘विगतमा भन्दा यहाँका उखु किसान अहिले ढुक्क भएर मुनाफा आर्जन गरिरहेका छन् ।’

उर्मिला जस्तै कञ्चनपुरको दक्षिण क्षेत्रमा उखुखेती गर्ने सयौँ किसान अहिले बजारको समस्याबाट मुक्त छन् । यहाँको बेलौरी र पुनर्वासमा दुई ठूला चिनी उद्योग सञ्चालनमा आएपछि किसानलाई उखु पुर्याउन भ्याइनभ्याइ छ ।

‘पहिले बैलगाडामा उखु बेच्न भारतसम्म जान्थ्यौं,’ उनले भनिन्, ‘अहिले गाउँमै उद्योग खुलेपछि किसान उखुखेतीप्रति आकर्षित भएका छन् ।’

कञ्चनपुरको बेलौरी, पुनर्वास, बेल्डाँडी र लालझाडी क्षेत्रमा सबैभन्दा बढी उखुखेती गरिँदै आएको छ । चिनी उद्योग सञ्चालनपछि यहाँ स्थापित कोल्हु भने विस्थापनका क्रममा रहेको बेलौरी नगरपालिका–७ टेडियाका कुलप्रसाद श्रेष्ठले बताए ।

उनले चिनी उद्योग सञ्चालनपछि किसानले उखुको उचित मूल्य पाइरहेको बताए ।

‘पहिले रु १५० मा प्रतिक्विन्टल उखु बिक्री गरियो,’ श्रेष्ठले भने, ‘अहिले प्रतिक्विन्टल रु साढे चार सयमा बिक्री भइरहेको छ हुँदैछ ।’
उनले दुई÷तीन वर्षयता उखुको मूल्यमा सुधार आउँदा खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भइरहेको बताए ।

‘मैले एक बिघा खेतमा उखु लगाएर जिविका चलाएको छु,’ श्रेष्ठले भने, ‘अब विगतको जस्तो उखु बिक्री हुने तर पैसा नपाउने अवस्था हट्दै गयो ।’

दुई दशकदेखि उखुखेती गर्दै आएका श्रेष्ठले यहाँ विगतमा किसानले बिक्रीका लागि निकै सास्ती भोगेको बताए ।

यसपटक उखु उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ । गत वर्ष बेलौरीस्थित महाकाली चिनी मिलले १६ लाख क्विन्टल र पुनर्वासस्थित भागेश्वर चिनी मिलले १२ लाख क्विन्टल उखु खरिद गरेका थिए । त्यसैगरी यहाँको पुनर्वास नगरपालिकाका उखु किसान रामदास बडायकले आफूहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य पाउनुपर्ने बताए ।

‘विगतमा मिलसम्म उखु पुर्याए पनि वर्षौसम्म मूल्य नपाएर चित्त बुझायौं,’ उनले भने, ‘सरकारले मूल्य निर्धारण गरेरभन्दा पनि सो मूल्य किसानले पाए÷नपाएका बारेमा नियमन गर्नुपर्छ ।’

बेलौरी नगरपालिकाको कृषि शाखा प्रमुख सुमनराज जोशीले जिल्लाको दक्षिणी भेग उखुको पकेट क्षेत्रका रुपमा विस्तार भइरहेको बताए ।

‘बेलौरीमा ६ हजार ५०० बिघा क्षेत्रफलमा उखुखेती गरिँदैछ,’ उनले भने, ‘तीन हजार ४०० किसान उखुखेतीमा आबद्ध छन् ।’

उनले हरेक वर्ष उखुको मूल्य वृद्धि हुँदै जाँदा किसानको उक्त खेतीमा आकर्षण बढ्दै गएको बताए ।

महाकाली चिनी मिलका प्रशासकीय अधिकृत कालुसिंह ठगुन्नाले मिलका लागि २५ लाख क्विन्टल उखु आवश्यक भएको बताए ।

‘यस याममा पाँच लाख क्विन्टल खरिद गरेका छौं,’ उनले भने, ‘मिललाई आवश्यक उखु उपलब्ध हुन सकिरहेको छैन ।’

सो मिल २०६७ सालदेखि सञ्चालन गर्दै आएको ठगुन्नाले बताए ।


क्लिकमान्डु