ऊर्वराभूमिलाई घडेरीको रूपमा बिक्री नगर्नु, कृषि उत्पादनमा लागौं : मन्त्री भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छिन् । ललितपुर महानगरपालिका वडा नं २१ स्थित नख्खु खोलामा मुहान निर्माण शुरु गरिएको हो ।

ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्ष अघिदेखि सञ्चालनमा आएको स्थानीयको भनाइ छ । राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकोमा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर सञ्चालन गरिँदै आएको छ । स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालु आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि एक करोड ३२ लाख र नहर निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

कुलोको मुहान शिलान्यासका अवसरमा मन्त्री भुसालले ऊर्वराभूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि उर्वरा जमीनबाट कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन् । सामूहिक खेती गरेर उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सबै मिलेर सामूहिक खेती गगर्न आग्रह गरिन् ।

तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले एतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिइन् । ‘उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिनेगरी निर्माण गर्नुपर्छ’ उनले भनिन्,‘त्यसका आवश्यक प्रवन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाइँहरू सक्रिया हुनुहोस् ।’

संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले समाजवाद हाम्रै सीप र परीश्रमबाट आउने भएकोले त्यसका लागि निरन्तर सिर्जनशील काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ऐतिहासिक खोकना राजकुलोको संरक्षण र सम्बद्र्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिइन् । राज्यले उपलब्ध गराएको सहयोगको अधिकतम फाइदा लिएर उत्पादकत्व वृद्धि गर्न समेत सुझाव दिइन् ।

सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले ऐतिहासिक कुलो स्तरोन्नतीबाट खोकनाबासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै विनियोजित बजेटलाई सही तवरले सदुपयोग हुने विश्वास दिलाए ।

कार्यक्रममा ललितपुर महानगर वडा नं २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले खोकनावासीका खेत सिञ्चित गर्नका लागि राजकुलो महत्वपूर्ण भएको र कुलो स्तरोन्नतीका लागि विनियोजित बजेट सही सदुपयोग गरेर सिँचाइ प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा खेतीयोग्य जमीन खण्डीकरण हुन नदिनेतर्फ आफूले ध्यान दिने बताए ।

शिलान्यास गरिएको राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैसीपाटी र खोकनाका करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ । यस प्रणालीबाट करिब दुई हजार घरधुरी एवं सात हजार जनङ्ख्या लाभान्वित हुने नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले जनाएको छ । खोला किनारको अतिक्रमणका कारण बहाव क्षेत्रफल घट्दै गएका कारण खोला किनार असुरक्षित हुँदै गएकाप्रति स्थानीयले चिन्ता व्यक्त गर्दै आएका थिए । उनीहरूले एतिहासिक सिँचाइ प्रणालीलाई संरक्षण गर्नका लागि सरकारसँग माग गर्दै आएका थिए ।


क्लिकमान्डु