जाडोले हिटरको व्यापार उच्च



काठमाडौं । चिसो मौसमका कारण बजारमा अत्यधिक रुपमा हिटर बिक्री भएको छ । जाडोबाट बच्नका लागि सबैभन्दा बढी प्रयोग हुने हिटर जाडो मौसम प्रवेश लगत्तै अत्यधिक हिटर बिक्री हुन थालेको हो ।

गर्मी मौसममा अत्यधिकरुपमा फ्यान बिक्री भए जस्तै जाडोको मौसममा हिटर बिक्री हुन्छ । त्यसैले, व्यवसायीहरूले सोहीअनुसार बजारमा सामग्री आयात र बिक्री वितरण गर्दछ ।
अहिले चिसो मौसम भएका कारण हिटर अत्यधिक रुपमा बिक्री हुन थालेको व्यवसायीहरूको भनाइ छ ।

अनामनगरस्थित रहेको एसएमएस किचन स्टोरका सञ्चालक मिना श्रेष्ठले जाडोका कारण हिटर अत्यधिक बिक्री भएको बताइन् । उनकाअनुसार अन्य वर्षको तुलनामा यो वर्ष बढी भएको छ ।

‘हरेक चिसो मौसममा हिटरको बिक्री हुने गर्दछ,’ उनले क्लिकमाण्डूसँग भनिन्, ‘तर, यो वर्ष विगतको तुलनामा धेरै बिक्री भएको छ ।’

बजारमा सामान्य परिवारलेसमेत जाडोमा हिटर किनेर प्रयोग गर्न सक्ने प्रकारका हिटर उपलब्ध छन् । जसले गर्दा आफ्नो परिवारको आकारको हिसाबले हिटर किन्न सक्ने उनको भनाइ छ ।

उनले विगतको दिनमा दैनिक ७/८ वटा हिटर बिक्री गर्दै आएकोमा यो वर्ष भने दैनिक १० देखि १५ वटा बिक्री भएको जानकारी दिइन् ।

त्यस्तै, शान्तिनगरस्थित साई इलेक्ट्रोनिक्स प्रालिका सञ्चालक गोविन्द केसीले दैनिक २५ वटासम्म हिटर बिक्री भइरहेको बताए । उनले गत वर्ष दैनिक मुस्किलले १५ वटा बिक्री गरेका थिए । अहिले भने हिटर बढी किन्न थालेको उनको भनाइ छ ।

‘मैले जाडो महिना शुरु भएसँगै १ सय वटा हिटर ल्याएको थियो,’ उनले भने, ‘उक्त हिटर केही दिनमै बिक्री भयो ।’

जाडो मौसमको शुरुवातीमा बढी बिक्री भएको हिटर अहिले भने कम हुँदै गएको उनको अनुभव छ ।

त्यस्तै, पहिलो चरणम १ सय वटा हिटर बिक्री गरेको केसीले पुनः १ सय हिटर ल्याएर बिक्री गरेको बताए ।

२ हजारसम्मको हिटर सबैभन्दा बढी बिक्री

बजारमा १ हजारदेखि ५ हजारसम्मको मूल्यको सामान्य हिटर उपलब्ध छन् । बाल्ट्रा, सिजी, वेगालगायत अन्य विभिन्न कम्पनीहरूको हिटरहरू बजारमा पाइन्छ । जसमा ग्राहकहरूले विभिन्न कम्पनीको हिटर आफ्नो आवश्यकताअनुसार किन्न सक्नेछन् ।

बजारमा न्यूनतम १ हजार रुपैयाँदेखि ५ हजारसम्मको हिटर उपलब्ध भए पनि बजारमा सबैभन्दा बढी २ हजारसम्म मूल्य पर्ने अत्यधिक बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।

व्यवसायीहरूका अनुसार बजारमा उपलब्ध भएको हिटरमध्ये महंगोभन्दा सस्तो मूल्यको बढी बिक्री भएको पाइन्छ । साथै, ग्राहकहरूले आफ्नो परिवारको आकारअनुसार किन्ने भएकाले सहज, सजिलोका लागि २ हजारसम्मको बढी हिटर बिक्री हुने व्यवसायी केसीको भनाइ छ ।

‘बजार सस्तोदेखि महंगो मूल्यको हिटर पाइन्छ । तर, अधिकांश २ हजारसम्म मूल्य पर्ने हिटर बढी बिक्री भएको छ,’ उनले भने ।

त्यस्तै, सामान्य मानिसका लागि जाडो कम गर्नका लागि २ हजारसम्म मूल्य पर्ने हिटर सबैको लागि उपयुक्त हुने उनले जिकिर गरे । आफू एक्लै छ भने सानो हिटर र ५ जनासम्मको परिवार छ भने २ हजारसम्म मूल्य पर्ने हिटर प्रयोग गर्न सकिन्छ ।

५ महिनामा डेढ लाख वटा हिटर आयात

चिसो मौसममा आवश्यक हिटर ५ महिनाको अवधिमा डेढ लाख पिस बढी आयात भएको छ । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले १ लाख ५१हजार ६०८ पिस हिटर आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले १८ करोड ५० लाख १३ हजारको हिटर आयात गरेको छ भने सो आयातित हिटरबाट सरकारले ४ करोड ४९लाख ९५ हजार भन्सार महसुल संकलन गरेको छ ।
त्यस्तै, चालु आवको पहिलो महिनामा निकै कम आयात भएको हिटर पछिल्लो महिनाहरूमा अत्यधिक हिटर आयात भएको देखिन्छ । आयातकर्ताहरूले जाडोलक्षित आयात बढाउँदै गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको साउन महिनामा ६ हजार ७१३ वटा हिटर आयात भएकोमा भदौ महिनामा ८ हजार ४ सय ३९ वटा हिटर आयात भएको थियो ।

त्यस्तै, असोजमा २५ हजार ६ सय ३१ वटा, कात्तिकमा ५५ हजार ९ सय ६० वटा र मंसिरमा ५४ हजार ८ सय २५ वटा हिटर आयात भएको तथ्याङ्कले देखाउँदछ ।

उक्त तथ्याङ्क हेर्दा सामान्य अवस्थाको तुलनामा आयात ९ गुणाले बढेको देखिन्छ ।


क्लिकमान्डु