बीमा कम्पनीले यी रेटिङ् प्राप्त कम्पनीसँग पुनर्बीमा गर्न पाउने



काठमाडौँ । बीमा समितिले बीमा कम्पनीहरुलाई तोकिएको रेटिङ् प्राप्त पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गर्न निर्देशन दिएको छ ।

समितिले बीमकको पुनर्बीमा निर्देशिका, २०७८ संशोधन गर्दै तोकिएको रेटिङ् प्राप्त पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गर्न भनेको हो ।

समितिका अनुसार मुख्य (लीडर) गर्ने पुनर्बीमा कम्पनीको रेटिङ ए माइनस, ए थ्री हुनुपर्नेछ । मूख्य कम्पनीसँग पुनर्बीमा गर्दा एम वेष्ट रेटिङ अन्तर्गत ‘ए माइनस’,एस एण्ड पि रेटिङ अन्तर्गत ‘ए माइनस’, मोडिज रेटिङ अन्तर्गत ‘ए थ्री’ र फिच रेटिङ अन्तर्गत पनि ‘ए माइनस’ हुनुपर्ने छ ।

यस्तै, सहायक हुने कम्पनीको रेटिङमा भने बी प्लस, बीबीबी, बीएए हुनुपर्ने संशोधित निर्देशिकामा उल्लेख छ ।

एम वेष्ट रेटिङ अन्तर्गत ‘बि डलब प्लस’,एस एण्ड पि रेटिङ अन्तर्गत ‘ट्रिपल बि’, मोडिज रेटिङ अन्तर्गत ‘बि डलब ए’ र फिच रेटिङ अन्तर्गत पनि ‘ट्रिपल बि’ हुनुपर्ने व्यवस्था संशोधित निर्देशिकाले गरेको छ ।

यो व्यवस्था नेपालका कम्पनीले पुनर्बीमा लिन अस्वीकार गरेको र विदेशी कम्पनीमा गर्नुपर्ने अवस्थामा मात्र लागू हुने समितिले जानकारी दिएको छ ।

स्वदेशी कम्पनीमै पुनर्बीमा गर्दा रेटिङ्सम्बन्धी व्यवस्था लागू नहुने समितिको निर्देशिकामा उल्लेख छ ।

पुनर्बीमाको विविधिकरणको लागि मुख्य (लिडर) पुनर्बीमा कम्पनीलाई कुल पुनर्बीमाको बढीमा ४० प्रतिशतसम्म र अन्य सहभागी पुनर्बीमा कम्पनीको हकमाप्रत्येक पुनर्बीमा कम्पनीलाई बढीमा २० प्रतिशतसम्म पुनर्बीमा दिनु पर्ने समितिले व्यवस्था गरेको छ ।

तर, स्वदेशी पुनर्बीमा कम्पनीको हकमा यस्तो सिमा लागु नहुने व्यवस्था गरिएको छ ।

बीमा कम्पनीले आफुले जारी गर्ने प्रत्येक बीमालेख अन्तर्गत जोखिमको पर्याप्त मात्रामा महाविपत्ति पुनर्बीमा सम्बन्धी व्यवस्था गराउनु पर्ने भएको छ ।

महाविपत्ति पुनर्बीमा गराउँदा त्यस्तो पुुनर्बीमा व्यवस्था अन्तर्गत बीमा कम्पनीको खुुद धारण पुनर्बीमा सम्झौताको हकमा जीवन बीमा कम्पनीको लागि ५ करोडसम्म र निर्जीवन बीमा कम्पनीको लागि बढीमा नेट वर्थको १० प्रतिशतसम्म धारण हुने गरी गर्नु पर्नेछ ।


क्लिकमान्डु