कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्न नदिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आफू संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिए । त्यस अवसरमा उनले यसको संक्रमण दर बढन नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरुको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गरा ।

संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । बैठकले संघीय सरकारले व्यहोर्नेगरी संक्रमितहरुको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले व्यहोर्ने विषयमा पनि छलफल गरेको छ ।

‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । नाकाहरुलाई कसरी अझ चुस्तदुरुस्त बनाउने अनि एन्टिजिन परीक्षण गर्दा देखिएका विरामीहरुको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका विरामीहरुको थप परीक्षण बढाउने कुराहरु, उनीहरुको खाने, बस्ने सुविधाका कुराहरु । यी सबै पक्षमा कुरा भएको छ र खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यहीँ निर्देशन भयो ।’ मन्त्री खतिवडाले भने ।

बैठकमा कोभिड भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढदै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए । बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ ।


क्लिकमान्डु