झलनाथ खनाललाई उपचार गर्न सरकारले दियो ५८ लाख



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा अर्थ मन्त्रालयले भैपरी आउने शीर्षकमा १३ अर्ब ४ करोड ५९ लाख रुपैयाँ रकम निकासा गरेको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार उक्त शीर्षकमा सबैभन्दा बढी बजेट निकासा साउन महिनामा भएको छ ।

भैपरी आउने साधारण प्रशासन बजेट शीर्षकमा मन्त्रालयबाट साउन महिनामा परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ निकासा गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नाममा साउन महिनामा दुई पटक बजेट निकासा गरिएको थियो । पहिलो पटक कोभिड–१९ विरुद्धको खोप खरिद र दुुवानी गर्ने प्रयोजनका लागि १ अर्ब १० करोड ५० लाख रुपैयाँ र दोस्रो पटक कोभिड–१९ को खोप चिनबाट खरिद गर्ने प्रयोगजनका लागि ५ अर्ब २४ करोड रुपैयाँ निकासा गरिएको थियो ।

अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयका नाममा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्चवापत ५८ लाख ५३ हजार रुपैयाँ भैपरी आउने शीर्षकमा बजेट निकासा गरेको छ । मन्त्रालयले साउन महिनामा खनालको उपचारका लागि ४८ लाख ५० हजार रुपैयाँ रकम निकासा गरेको थियो भने असोज महिनामा थप १० लाख ३ हजार रुपैयाँ निकासा गरेको थियो ।

मंसिर महिनामा मात्र भैपरी आउने शीर्षकमा ६ अर्बभन्दा बढी निकासा

चालु आर्थिक वर्षको मंसिर महिनामा अर्थ मन्त्रालयले ६ अर्ब ३३ करोड २१ लाख रुपैयाँ निकासा गरेको छ । यो महिना कोभिड–१९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले नगद हस्तान्तरण गर्न स्थानीय तहको नाममा ५ अर्ब रुपैयाँ निकासा गरेको थियो ।

त्यसैगरी यो महिना राष्ट्रिय योजना आयोगको नाममा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ निकासा भएको छ । राष्ट्रिय जनगणना कार्यक्रम, २०७८ का गणकलाई पारिश्रमिक भुक्तानी गर्ने प्रयोजनाका लागि उक्त रकमान्तर निकासा स्वीकृत गरिएको हो ।

अर्थ मन्त्रालयका नाममा ९५ लाखभन्दा बढी निकासा

चालु आर्थिक वर्षको ५ महिना अवधिमा अर्थमन्त्रालयले आफ्नो नाममा ९५ लाख ४८ हजार रुपैयाँ भैपरी आउने शीर्षकमा रकम निकासा गरेको छ । कात्तिक र मंसिर महिनामा गरी मन्त्रालयले उक्त रकम निकासा गरेको हो ।

विवरण अनुसार मन्त्रालयले कात्तिकमा दुई चरणमा रकम निकासा गरेको छ । भन्सार नियमावली, २०६४ को नियम ४५ का मूल्यांकन पुनरावलोकन समितिका अध्यक्ष र सदस्यहरुको पारिश्रमिक उपलब्ध गराउन र बजेट तर्जुमाका क्रममा खरिद सम्पन्न भएका मेशिनरी औजारको दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि रकमान्तर स्वीकृत गरिएको थियो ।

त्यस्तै मंसिर महिनामा उक्त मन्त्रालयको नाममा ४७ लाख ४४ हजार रुपैयाँ निकासा भएको छ ।


क्लिकमान्डु