स्वच्छ ऊर्जा प्रयोग गरौं, ग्यास चुलो छोडौंः उर्जामन्त्री भुसाल



काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताएकी छन् ।

नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २१औँ वार्षिक साधारणसभालाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत् खपत गर्ने ठूला उद्योग स्थापनार्थ प्रोत्साहन गर्ने र विद्युतीय सवारीसाधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति अगाडि बढाएको बताइन् ।

सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र समय कम लाग्ने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत् सहयोगी हुने उनको तर्क थियो ।

‘पछिल्लो समय ‘वान शन, वान वर्ल्ड वान ग्रीड’को अवधारणाको विकास भएको छ । यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ,’ उनले भनिन् ।

नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोत भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौती बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।

मन्त्री भुसालले परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको बताइन् ।

उनले नवीकरणीय ऊर्जा प्रवर्द्धनमा विश्व लागेको बताउँदै नेपालले पनि त्यसको प्रयोगको नीतिलाई अवलम्बन गर्दै जानुपर्ने बताइन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन (कोप-२६)मा नेपालले गरेको प्रतिबद्धता पूरा गर्न नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न आवश्यक रहेको मन्त्री भुसालको भनाइ थियो ।

सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रित ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उनले १० प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताइन् ।

‘वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यतः सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख हुन्,’ उनले भनिन् ।

हाल ऊर्जा प्रणालीमा करिब दुई हजार १०० मेगावाट विद्युत् जडित क्षमता छ ।

१० प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत् जडान गर्न सकिने मन्त्री भुसालको विश्वास छ । हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरिसकेका छन् ।

तीमध्ये करिब ४० मेगावाट सञ्चालमा आइसकेको छ । सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चुलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीको प्रवर्द्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पुर्याउन र जनताको जीवनस्तरमाथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताइन् ।

मुलुकका ६ प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उहाँले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

सौर्य विद्युत् उत्पादकले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत् सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

‘ऊर्जा व्यापारबारे छिमेकी देशसँग लफल चलाउँछौँ, नेपालमै सिँचाइका लागि निःशुल्क विद्युत् वितरण गर्नेबारे छलफल गर्ने योजना छ,’ उनले भनिन् ।

सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका कुलपति डा. सुनिलबाबु श्रेष्ठले सबैले सौर्य ऊर्जाका विषयमा स्वीकार्य हुनेगरी काम गर्न सुझाव दिएका थिए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले सरकारले नेपालका प्रयोग गर्न बाँकी ९२ प्रतिशत ऊर्जालाई कसरी उत्पादन गर्नेबारे योजना ल्याउन छलफलको आवश्यकता औँल्याए ।

कार्यक्रममा सङ्घका अध्यक्ष इन्द्र खनालले सरकार र निजी क्षेत्रसँग मिलेर ९ लाख ६१ हजार परिवार तथा विद्यालय, स्वास्थ्य संस्था गरी तीन हजार संस्थागत रुपमा सौर्य ऊर्जा पुर्याएको जानकारी दिए ।


क्लिकमान्डु