संग्राहलयभित्र रेष्टुराँ निर्माण रोक्न प्रक्रिया शुरु गर्ने र ‘बतास’को प्रवेशबारे छानबिन शुरु गर्छुः मन्त्री आले



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री आलेले संग्राहकलयभित्र निर्माण गर्न लागिएको रेष्टुराँलगायतको भौतिक संरचनाको काम रोक्ने र हटाउने प्रक्रिया थाल्ने बताए । उनले नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहको प्रवेश कसरी भयो भन्ने विषयमा छानबिन शुरु गरिने समेत बताए ।

‘रेष्टुराँ तथा भौतिक संरचना निर्माणको काम कुन प्रक्रियाबाट हटाउने हो त्यसमा छलफल गरेर अगाडि बढाइनेछ,’ उनले भने ।
उनले बिहीबार नै नारायणहिटी दरबार संग्राहकलय अवलोकन गर्ने पनि बताए ।

‘संग्रहालयमा जुन गतिविधि भएको छ, त्यो ठीक छैन, मन्त्रिस्तरबाट होस् वा मन्त्रिपरिषदको बैठकबाट होस् जसरी पनि हटाउँछौं,’ उनले भने ।

उनले आजै उक्त स्थानमा अवलोकन गर्ने र कुन प्रक्रियाबाट हटाउन सकिन्छ त्यसमा काम गर्ने उनको भनाइ थियो ।

‘आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सी अर्को पावरमा भएको बेला अर्कै लिने हुन्छ । यसो गर्दै जाँदा पूरै वातावरण धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् वा क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ,’ उनले भने ।


क्लिकमान्डु