कोरोना भाइरसको अफ्रिकन रुप ओमिक्रोनले पुनः धरापमा पर्दै विश्व अर्थतन्त्र



कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संसारभर नै फैलिएको छ । छिमेकी देश भारत यतिबेला सबैभन्दा चर्को मारमा परेको छ । विवरणहरुमा जनाइएअनुसार ओमिक्रोनको लहर रोक्नका लागि भारतका विभिन्न राज्यहरुले नयाँ नयाँ रणनीतिका साथ काम गरिरहेका छन् ।

अरविन्द केजरीवालको दिल्ली सरकारले सरकारी कर्मचारीलाई ५० प्रतिशत क्षमतामा मात्रै काम गर्न निर्देशन दिइसकेको छ । यस्तै, वर्क फर्म होमको नीति समेत अख्तियार गरेको छ ।

भर्खर भर्खर उठन थालेको विश्व बजार र अर्थतन्त्रमा ओमिक्रोनले गम्भीर असर पर्न जाने आशयका समाचार विवरणहरु यसबीचमा सार्वजनिक भएका छन् ।

खोपको उपलब्धतासँगै विश्व अर्थतन्त्रमा सुधार आउने, रोजगारीका क्षेत्रहरु विस्तार हुने अनुमानहरुका विपरित ओकिक्रोनले थप समस्या थपिदिएको छ । अमेरिका पुनः नयाँ हटस्पटमा परिणत भएको छ । दैनिक १० लाख बढी नयाँ संक्रमित थपिएका छन् ।

प्रमुख र सुविधा सम्पन्न मानिएका सबै अस्पतालहरुका बेडहरु भरिएका छन् । रोजगारीको क्षेत्र पुनः संकुचनमा परेको छ । यसले अर्थतन्त्रलाई पुनः समस्यामा पार्ने देखिन्छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले खोप लगाउन पुनः आफ्ना नागरिकलाई आग्रह गरेका छन् । चाहिदो मात्रामा खोप उपलब्ध भएको भन्दै खोप लगाए मात्रै सुरक्षित हुन सकिने उनको भनाइ छ । ओमिक्रोनले अर्थतन्त्रमा असर पार्ने भन्दै निरोधात्मक उपायहरुको खोजी भइसकेको छ । के कसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने बारेमा सरकारी अधिकारीहरुले आवश्इक तयारी गरिरहेका छन् ।

करिब नियन्त्रणमा आएको भारतमा कोरोनाको पुनः तेस्रो लहर देखिएपछि अवस्था विकराल बन्दै गएको छ । पछिल्ला २ वर्षदेखि कोरोनाका कारण लगातार समस्यामा परेको भारतमा मात्रै २ लाख बढी सक्रिय संक्रमितको संख्या पुगेको छ । डेल्टा भेरियन्टको तुलनामा कमजोर नै मानिएपनि ओमिक्रोनले थप समसया खडा गर्ने देखिएको छ ।

यूरोपमा लामो समयदेखि नै कोरोना नियन्त्रणको नाममा कडा प्रावधानका साग सरकारी कदम जारी छ । त्यसमा पनि बेलायत सुबैभन्दा बढी समस्यामा परेको छ । मानिसका रोजगारी कटौती भएका छन् । अर्थतन्त्रले गति लिन नसक्दा कतै समस्या पर्ने त होइन भन्ने आशंका पनि व्यक्त भएको छ । लगातार २ वर्षदेखि समस्यामा परेको यूरोप सामान्य रुपमा आउन पाउँदा नपाउँदै पुनः समस्यामा परेको छ ।

अमेरिका र यूरोपले त ठूलो संख्या नागरिक उडानहरु कटौती गरेका छन् । केही उडानहरु त स्थगित नै भएका छन् । अर्थतन्त्र गति पैदा हुँदा संसारभर नै इन्धनको मूल्यमा समेत उकालो लागेको थियो ।

त्यसले अर्थतन्त्रमा गति पैदा भइरहेको छ भन्ने सन्देश प्राप्त भएको थियो । पछिल्ला केही सातादेखि ओमिक्रोनको कहर त्यसैगरी शुरु भएको छ, जुन अघिल्ला वर्षहरुमा पनि भएका थिए ।

कोरोनाको पहिलो लहरमा संसारभरका करिब ५ करोड भन्दा बढी मानिस गरिबीको रेखामुनी पुगेका थिए भने दोस्रो चरणमा त्यो थपिएर झण्डै ३० करोडमाथि पुगेको ओपचारिक तथ्यांक सार्वजनिक भएको थियो । यो विवरण औपचारिक तथ्यांकमा आधारित थियो । अनौपचारिक रुपमा त यो संख्या अझै धेरै हुन सक्ने विवरण सार्वजनिक भएका थिए ।

कोरोनाका कारण श्रीलंका, टर्कीलगायतका देशहरुमा विकराल समस्या देखा परिसकेको छ । दषिण एशियाली मुलुक श्रीलंकामा सबैभन्दा ठूलो समस्या देखा परेको छ । अर्थतन्त्र करिब करिब टाट पल्टने अवस्थामा पुगेको छ ।

टर्कीका ४ मध्ये २ युवा देश छाडेर जाने अवस्थामा पुगेका छन् । अर्थतन्त्रको संरचनाहरु क्रमशः खण्डित भइरहेका छन् । खोपका काराण समस्या समाधान हुन्छ भनेर गरिएको लगानी कतै बालुवामा पनी त भइरहेको छैन भन्ने आशंकाहरु पनि यसबीचमा उत्पन्न भएका छन् ।

नेपालको तीन तर्फ भारत रहेको र खुल्ला सीमाना भएका कारणले पनि भारतमा देखिएको तेस्रो लहरबाट अछुतो बन्ने अवस्था छैन । सीमा नाकाहरुमा कुनै पनि प्रकारको परीक्षण नै नगरीकन मानिसहरु स्वतन्त्र रुपमा आवतजावत गरिरहेका छन् । यसले समस्या झनै बढाइदिने अवस्था आएको छ । मानिसहरुले कोरोना लागेको थियो र भन्ने खालको व्यवहार देखाइरहेका छन् ।

राज्यले कडा कदम चाल्दा त्यसबाट अर्थतन्त्रमा पर्ने प्रभाव के कति मात्रामा विकराल बन्छन् भन्ने विषय यसअघिका लकडाउनहरुमा देखा परिसकेको छ । नागरिक आफै सचेत नहुँदा समस्या बल्झने मात्रै होइन थप विकराल बन्ने अवस्था सिर्जना भएको छ ।

बहुपक्षीय दातृ निकायले ओमिक्रोनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा हालसम्म कुनै मुख खोलेका छैनन् । उनीहरु पनि पर्ख र हेरको अवस्थामा देखिन्छन् । कोरोना भाइरसको बारेमा नियमित विवरण सार्वजनिक गरिरहेको वल्र्डओ मिटरका अनुसार हालसम्म २९ करोड ८३ लाख ३ हजार ९७६ कोरोनो भाइरसकको केश सार्वजनिक भएको छ । कोरोनाका कारण संसारभर नै ५४ लाख ८२ हजार ४९२ जनाको निधन भइसकेको छ ।

सोही विवरण अनुसार कोरोनाको कहरमा अझै पनि अमेरिका नै शीर्ष स्थानमा रहेको छ । अमेरिकामा हालपनि १ लाख ६१ हजार ३११ मात्रै नयाँ केश देखा परेको छ । १ करोड ५९ लाख ५१ हजार ६७८ बराबरको सक्रिय केश देखिन्छ ।

भारत दोस्रो नम्बरमा रहेको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सक्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ३ करोड ४९ लाख भन्दा बढी संक्रमित भएका छन् ।

सोही अवधिमा थप ३२५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८७ हजार ६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या २ लाख ८५ हजार ४१० रहेको छ । गएको २४ घण्टामा भारतमा १९ हजार २०६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४३ लाख ४१ हजार ९ जनालाई कोरोना संक्रमणबाट मुक्ति पाएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७.८१ प्रतिशत रहेको जनाइएको भएपनि ओमिक्रोनले कस्तो प्रभाव पार्ने हो त्यसै भन्न सकिने अवस्था छैन ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

उता अमेरिकामा जनवरी महिना सुरु भएयताको ४ दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण ३ हजारभन्दा बढी विद्यालय बन्द भएका छन् । । पछिल्ला केही हप्तायतादेखि कोरोनाका संक्रमित निकै नै बढ्दै गएको देखिन्छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका छन् ।

स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन् । यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।

त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालय बन्दै गरिएका छन् । गत ११ दिन यता यहाँ कोरोनाका संक्रमित दोब्बर भन्दा पनि बढी देखिएका छन् । जसका कारण अरु धेरै क्षेत्रपनि बन्द गर्नुपर्ने अवस्था छ । विभिन्न समाचार एजेन्सीहरुको विवरणमा आधारित


क्लिकमान्डु