७६ हजारभन्दा बढी महिलाले लिए उद्यमशील कर्जा



काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट उद्यमशील कर्जा अन्तर्गत ७६ हजार २० महिला उद्यमीले ऋण लिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा महिला उद्यमशील कर्जा अन्तर्गत ७१ अर्ब १५ करोड रुपैयाँ ऋण प्रवाह भएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ५५ हजार ५५१ जना महिला उद्यमीले ५० अर्ब ९८ करोड रुपैयाँ ऋण लिएका थिए । यो तथ्यांकलाई हेर्दा चालु आर्थिक वर्षको साउन महिनामा मात्र थप ४ हजार ७७१ जना महिला उद्यमीले ४ अर्ब ८१ करोड रुपैयाँ ऋण लिएका थिए ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार पहिले–पहिले थोरै महिलाहरुले उद्यम गर्न ऋण लिने गरेका भएपनि पछिल्लो डेढ वर्षको अन्तरालमा धेरैले ऋण लिन थालेका छन् ।

‘हामीले अहिले राखेको तथ्यांक शुरुदेखि ऋण लिने महिना उद्यमीहरुको हो । पहिले थोरैले मात्र ऋण लिने गरेका थिए । तर, पछिल्लो डेढ वर्षलाई हेर्दा ऋण लिने महिला उद्यमीको संख्या पनि बढ्दै गएको छ,’ उनले क्लिकमाण्डुसँग भने ।

बैंकबाट ऋण लिने महिला उद्यमीहरुको संख्या र ऋण रकम बढ्दै गएपछि गत वर्षदेखि मात्र विवरण मासिक रुपमा सार्वजनिक गर्न थालिएको भट्टको भनाइ छ ।

‘हामीले गत वर्षदेखि मात्र कति महिला उद्यमीले ऋण लिए भनेर विवरण सार्वजनिक गर्न थालेका है । अघिल्ला वर्षहरुमा ऋण लिने महिला उद्यमीको विवरण न्यून थियो । अहिले पछिल्लो समय प्रकाशन गरको विवण भनेको अहिलेसम्म ऋण लिने र तिर्नेहरुको विवरण हो,’ उनले भने ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म ६० हजार ३२२ महिला उद्यमीले ५५ अर्ब ६९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका थिए । त्यसयता कात्तिकसम्म थप १५ हजार ६९८ महिला उद्यमीहरुले ऋण लिएका छन् । ती महिला उद्यमीहरुले साउनदेखि कात्तिक महिनासम्म थप १९ अर्ब ७८ करोड रुपैयाँ ऋण लिसकेका छन् ।

राष्ट्र बैंकको तथ्यांक हेर्दा चालु आर्थिक वर्षको भदौसम्म ६६ हजार ६९० महिला उद्यमीले ६२ अर्ब ३७ करोड रुपैयाँ ऋण लिएका थिए । त्यसैगरी असोज मसान्तसम्म ऋण लिने महिला उद्यमीको संख्या ७३ हजार ७८ पुगेको थियो । यो महिनासम्म महिला उद्यमीको नाममा ६८ अर्ब ३२ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

चालु आवको ४ महिनामा २० हजारभन्दा बढी महिला उद्यमीले ऋण लिए
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा २० हजार ४६९ महिला उद्यमीले २४ अर्ब ५९ करोड रुपैयाँ ऋण लिएका छन् ।

साउन महिनामा ४ हजार ७७१ महिला उद्यमीले ४ अर्ब ८१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका थिए भने भदौ र असोज महिनामा भने ६ हजारभन्दा बढी महिला उद्यमीले ऋण लिएका छन् ।

भदौ महिनामा ६ हजार ३६८ जना महिला उद्यमीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ६८ करोड रुपैयाँ ऋण लिएका थिए । त्यसैगरी असोज महिनामा पनि भदौ महिनाकै हाराहारीमा महिला उद्यमीहरुले ऋण लिएका राष्ट्र बैंकले जनाएको छ । असोजमा मात्र ६ हजार ३८८ जना महिला उद्यमीले ५ अर्ब ९५ करोड रुपैयाँ कर्जा लिएको तथ्यांक छ ।

कात्तिक महिना भने ऋण लिने महिला उद्यमीको संख्या घटेको भएपनि ऋण रकम बढेको छ । कात्तिकमा २ हजार ९४२ महिला उद्यमीले ७ अर्ब १५ करोड रुपैयाँ कर्जा लिएका छन् ।


क्लिकमान्डु