ट्रेनीबाट आएकी अल्का मित्तललाई सबैभन्दा ठूलो ऊर्जा कम्पनीको जिम्मेवारी



एजेन्सी । भारतको सबैभन्दा ठूलो पेट्रोलिय पदार्थको उत्पादन, प्रशोधन तथा व्यापार गर्ने कम्पनी आयल एण्ड नेचुरल ग्यास कर्पोरेशनको प्रमुखमा डा. अल्का मित्तललाई ल्याइएको छ ।

उनलाई अध्यक्ष वा प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको छ । मित्तल सबैभन्दा वरिष्ठ निर्देशक हुन् । उनलाई अध्यक्षका अलावा प्रबन्ध निर्देशकको समेत जिम्मेवारी दिएर भारतको समग्र पेट्रोलियम बजारको देखभाल गर्न लगाइएको छ ।

सो कम्पनी भारतको सरकारी स्वामित्वको कम्पनी हो । कर्पोरेशनका प्रमुख रहेका सुभाष कुरमाको ३१ डिसेम्बर २०२१ मा कार्यावधि सकिएको छ । उनको स्थानमा अल्कालाई ज्म्मिेवारी दिइएको हो । सुभाष कर्पोरेशनको वित्ततर्फका निर्देशक थिए । गत अप्रिलदेखि उनले अध्यक्ष वा प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो एक वर्षदेखि कम्पनीको पूर्णकालीन अध्यक्षको नियुक्ति भने भएको थिएन ।

अल्का मित्तलले अर्थशास्त्रमा पोष्ट ग्रेजुयट डिग्री हासिल गरेकी छिन् । सन् २०१८ को नोभेम्बरदेखि उनले मानव संशाधन विभागको प्रमुखको रुपमा काम गर्दै आएकी थिइन् । सन् १९८५ मा उनी ट्रेनीको रुपमा सो कर्पोरेशनको सेवा शुरु गरेकी थिइन । उनले क्षमता विकास विभागमा समेत काम गरेको अनुभव छ ।

कर्पोरेशन भारतको सबैभन्दा ठूलो ऊर्जा कम्पनी हो । भारतको कच्चा इन्धन, ग्यासको उत्पादनमा सो कम्पनीको हिस्सा ७१ प्रतिशत बराबर रहेको छ । कम्पनीको २० देशका विभिन्न परियोजनामा सहभागिता छ ।

अजरवैजान, बंगलादेश, ब्राजील, कोलम्बिया, इराक, इजरायल, इरान, काजकिस्तान, लिविया, मोजाम्बिक, म्यानमार, नामीबिया, रुस, दक्षिण सुडान, सुडान, सिरिया, यूएई, भेनेजुयला, भियतनाम र न्यूजील्याण्डका ४१ परियोजनामा सहभागिता जनाएको छ । कर्पोरेशनको स्थापना १९९३ मा भएको हो । कम्पनीको कूल बजार पूँजीकरण २५।०३ विलियन डलर बराबर रहेको छ ।

कम्पनीको भारत पेट्रोलियलगायतका अन्य सहायक कम्पनीहरु समेत रहेका छन् ।


क्लिकमान्डु