पाँच चिनी उद्योगले उखु किसानलाई अझै दिएनन् पौने ९ करोड



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले उखु मिलहरुले कृषकलाई अझै ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएका छन् ।

उनले श्रीराम, इन्दिरा, हिमालयन, लुम्बिनी र अन्नपूर्ण चिनी मिलले अझै ८ करोड ७० लाख रुपैयाँ उखु किसानलाई रकम भुक्तानी गर्न बाँकी रहेको बताए ।

सचिव भट्टराईले उखु किसानलाई रकम भुक्तानी नगर्ने उद्योगको बैंक खाता रोक्का राख्न समेत माग गरेका छन् ।

‘अहिले ८ करोड ७० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ । गत वर्षको तथ्यांक र अहिलेको तथ्यांक हेर्दा ९५ प्रतिशत भुक्तानी भएको देखिन्छ । तर अझै पनि यो रकम ठूलो हो,’ उनले भने ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा बोल्दै सचिव भट्टराईले उखु मिलले गत वर्षसम्म १ अर्ब ४० करोड रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेकोमा १ अर्ब ३१ करोड ३० लाख रुपैयाँ भुक्तानी समेत बताए ।

उनले भुक्तानी नगर्ने उद्योगको बैंक खाता र जग्गा रोक्का गर्न पत्रचार गरिएको मन्त्रालयले जानकारी दिए ।

उनका अनुसार विगतका दिनमा २९ वटा चिनी उद्योगहरु सञ्चालनमा रहेको भएपनि अहिले सबै बन्द भएर ८ वटा मात्र सञ्चालनमा छन् ।

त्यस्तै कृषि सचिव डा. गोविन्द प्रसाद शर्माले नीतिगत कुराले गर्दा कृषकलाई समस्यामा पारेको बताए । ऐन तथा नियमहरु संशोधन गरी यसको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

उखुको मूल्य निर्धारणका लागि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा फाइल पठाएको उनले जाकारी दिए । अब बस्ने मन्त्रीपरिषदको बैंठकले उखुको मूल्य सम्बन्धी निर्णय गर्ने उनको भनाइ छ ।

छलफलमा उखु मिलहरुले भारतबाट उखु पैठारी गरी ल्याउने गरेको राजस्व सचिव कृष्णहरि पुष्करले जानकारी दिए ।

नेपालको भन्दा भारतीय उखुबाट बढी चिनी उत्पादन हुने हुँदा पनि यस्तो भएको हुन सक्ने उनको भनाइ छ । यसलाई रोकथाम गर्न भन्सार कार्यालयहरु लागेका भएपनि खुल्ला सिमानाका कारण नसकिएको उनको भनाइ छ ।

छलफलमा सहभागी सांसदहरुले कृषकलाई सरकारले नै भुक्तानी गरेर उद्योगीहरुसँग पछि भुक्तानी लिँदा उपयुक्त हुने सुझाव दिए । यस्तो विषय पटक–पटक उठान हुने भएपनि यसले दीर्घकालीन समाधान नपाएको सांसदहरुको गुनासो थियो ।


क्लिकमान्डु