नेपाली युवालाई फ्रान्समा रोजगारी दिन श्रममन्त्रीको आग्रह



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले फ्रान्समा रहेका नेपाली युवालाई रोजगारी दिन आग्रह गरेका छन् ।

श्रममन्त्री श्रेष्ठले नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओलेसँगको भेटमा युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरु कार्यरत रहेका युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेका हुन् ।

श्रेष्ठले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्बन्धलाई अझ बिस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए ।

नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा राजदूत बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनसक्ने बताए । साथै, कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरुका लागि रोजगारी सिर्जना हुने जिकिर गरे ।

राजदूत बुर्बाओले फ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यवसायिक तालिमको राम्रो प्रबन्ध हुनुपर्ने जानकारी दिए ।

साथै उनले फ्रान्समा फ्रान्सेली नागरिक सरह नै विदेशी कामदारले पनि पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुविधा उपभोग गर्न पाउने उल्लेख गरे ।


क्लिकमान्डु