वाणिज्य बैंकमा ४९ अर्बले निक्षेप बढ्ने, सीडी ९० प्रतिशतभन्दा तल झर्ने



काठमाडौं । वाणिज्य बैंकहरुमा मंगलबार एकैदिन ४९ अर्ब रुपैयाँ निक्षेप थपिने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार गरेको परिपत्र अनुसार मंगलबार बैंकहरुमा ४९ अर्ब रुपैयाँ निक्षेप थपिने भएको हो । बैंकहरुले स्थानीय तहमा रहेको सन्चित कोषको मौज्जातको रकमको ८० प्रतिशतसम्म रकम निक्षेपको रुपमा देखाउन पाउने नीतिगत व्यवस्था मंगलबारदेखि कार्यान्वयनमा आएको हो ।

अर्थमन्त्रालयले गतसाता गरेको व्यवस्थालाई राष्ट्र बैंकले मंगलबारदेखि कार्यान्वयनमा ल्याएको हो । यसअघि ५० प्रतिशतसम्म रकम निक्षेपमा देखाउन पाउने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले ३० प्रतिशत बिन्दुले स्थानीय तहको कोषको रकम निक्षेपमा देखाउन पाउने व्यवस्थाले ४९ अर्ब रुपैयाँ निक्षेप बढ्ने बताए । ४९ अर्ब निक्षेप थपिएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९० प्रतिशतभन्दा तल झर्ने देखिन्छ । अहिले ९०.५४ प्रतिशत रहेको छ ।

बैंकरहरुले भने ४९ अर्ब बढेपनि पुस मसान्तमा कर प्रयोजनको लागि ५० अर्बभन्दा बढी रकम सरकारी खातामा नै जाने भएको हुँदा ऋण दिने पैसामा भने सुधार नहुने बताउँछन् ।


क्लिकमान्डु