दशैंअघि विपन्नलाई दिने भनिएको १० हजार अझैसम्म भएन वितरण



काठमाडौं । कोभिड–१९ बाट प्रभावित गरिब तथा अतिविपन्न परिवारलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ अहिलेसम्म पनि वितरण हुन सकोको छैन् ।

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिस्थापन विद्येकमार्फत् ५ लाख गरिब परिवारलाई उक्त रकम असोज महिनाभित्रै वितरण गर्ने भनेर घोषणा गरेका थिए । कतिपय भाषणमा मन्त्री शर्माले गरिवलाई दशैं मनाउन उक्त रकम वितरण गर्ने समेत भनेका थिए ।

तर, दशैं सकिएको ३ महिना वितिसक्दा पनि लक्षित वर्गले अहिलेसम्म तोकिएको रकम प्राप्त गर्न सकेका छैनन् ।

प्रतिस्थापन विधयेकमा मन्त्री शर्माले स्थानीय तहको समन्वयमा २०७८ असोज महिनाभित्र गरिब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ हस्तान्तरण गर्ने गरी आवश्यक तयारी भएको भने पनि अर्थमन्त्रालयले कात्तिक १५ गते मात्र कार्यविधि तयार गरेको थियो ।

मन्त्रालयले विपन्न गरिव परिवारलाई १० हजार रुपैयाँ वितरण गर्न कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ कात्तिक १५ गते बनाएर प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

अर्थमन्त्रालयका अनुसार विपन्न परिवारलाई दिइने नगद अनुदान शीर्षकमा ५ अर्ब रुपैयाँ मंसिर महिनामा मात्र निकासा गरिएको छ ।

न्त्रालयको ढिलासुस्तिसँगै स्थानीय तहहरुले पनि मंसिर महिनाभरी नामावली संकलन गरेर बल्ल सम्बन्धित ठाउँमा विवरण पठाएका छन् ।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ का वडा सचिव नारायण आचार्यका अनुसार यो वडाले मंसिर २५ गतेसम्म गरिब तथा विपन्न स्थानीयहरुको विवरण संकलन गरेर नगरपालिकामा पठाएको छ ।

वडा कार्यालयको काम सकिएको भएपनि त्यसपछि नगरपालिकाले प्रमाणीकरण गरेर कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वयमा सम्बन्धित व्यक्तिको बैंक खातामा १० हजार रुपैयाँ पठाइदिने सचिव आचार्य बताउँछन् ।

‘हाम्रो वडा कार्यालयले मंसिर २५ गतेसम्म विवरण संकलन गरेको थियो । उक्त विवरण हामीले नगरपालिकामा पठाएका छौं । अरु प्रक्रियाहरु अगाडि बढाउने काम नगरपालिका र कोलेनिकाको हो,’ उनले भने ।

त्यसैगरी अर्थमन्त्रालयले पनि हालसम्म कतिले उक्त रकम पाए भनेर यकिन तथ्यांक मन्त्रालयमा नआएको जानकारी दिएको छ । अहिले यो रकम कितले पाए भनेर संघीय मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयसँग विवरण मागिएको अर्थमन्त्रालयका सह–सचिव तथा प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।

‘अहिलेसम्म कति कोभिड प्रभावित गरिव तथा विपन्न परिवारले यो रकम पाए भन्ने कुराको विवरण आइसकेको छैन् । तर, हामीले संघीय मामिला मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयसँग विवरण मागेका छौं,’ उनले भने ।

त्यस्तै काठमाडौं महानगरपालिकाले पनि हालसम्म उक्त रकम वितरण गरेको छैन् । वडा कार्यालयहरुबाट फाइल आएको भएपनि रकम अभावले गर्दा १० हजारका दरले कोभिड प्रभावित गरिव तथा विपन्न परिवारलाई वितरण गर्न नसकिएको काठमाडौं महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख बुद्ध मानन्धरले जानकारी दिए ।

‘वडा कार्यालयहरुले कोभिड प्रभावित गरिव तथा विपन्न परिवारको नामावली संकलन गरेको फाइल पाठाएका छन् । तर, आर्थिक अभावका कारण रकम वितरण गर्न सकेका छैनौं । अर्थमन्त्रालयले रकम पठाएको छ भने पुस महिना भित्र रकम हस्तान्तरण गछौं,’ उनले भने ।


क्लिकमान्डु