पोखरामा १० रोपनी क्षेत्रफलमा अपार्टमेन्टसहित हाउजिङ बन्दै, यस्ता हुनेछन् सुविधा



काठमाडौं । पोखराको प्रस्याङ ५ मा ह्वाइट हर्स डेभलपर्सले १ अर्ब रुपैयाँ लगानीमा अपार्टमेन्टसहित हाउजिङ निर्माण गरिरहेको छ । कम्पनीले एकै स्थानमा ‘लभ्ली हिल्स रेसिडेन्सी’ नाम दिई अपार्टमेन्टसहित हाउजिङको निर्माण गरेको हो ।

कम्पनीले १० रोपनी क्षेत्रफलमा निर्माण कार्य अगाडि बढाएको जनाएको छ ।

सो क्षेत्रफलमा २ वटा टावर भएको अपार्टमेन्ट ‘ट्वीन बिल्डिङ’ र १२ वटा घर निर्माण गरिरहेको कम्पनीका बजार प्रबन्धक लाला गुरुङले बताए ।

उनकाअनुसार शुरुमा कम्पनीले शुरुवमा ४२ वटा युनिटको अपार्टमेन्ट र १४ वटा घर निर्माण गर्ने लक्ष्य लिएको थियो । तर, पछि २ वटा अपार्टमेन्ट बिल्डिङमा ४६ वटा युनिट र १२ वटा मात्रै घर निर्माण गर्ने भएको हो ।

‘हाल कम्पनीले निर्माणको काम धमाधम कार्य अगाडि बढाएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अपार्टमेन्टको कार्य सम्पन्न गरी फिनिसिङको कार्य भइरहेको छ । साथै, १२ वटा हाउजिङमध्ये ५ वटा निर्माण भइरहेको छ ।’

कम्पनीले बेसमेन्ट पार्किङसहित १० तल्लाको अपार्टमेन्ट निर्माण गरेको हो । गुरुङकाअनुसार सो निर्माण भएको ट्वीन अपार्टमेन्ट २३÷२३ वटा युनिटको हुनेछ ।

जसमा कम्पनीले तीन थरी युनिट भएको अपार्टमेन्ट तयार गरेको छ । कम्पनीले ट्वीन अपार्टमेन्टमा १ वटा बेडरुम, २ वटा बेडरुम र ३ वटा बेडरुम गरी तीन प्रकारका निर्माण भएको उनले जानकारी दिए ।

कम्पनीले ३ वटा बेडरुम भएको ८ वटा, २ वटा बेडरुमको २२ वटा युनिट र १ वटा बेडरुम भएको १४ वटा निर्माण गरेका छन् । साथै, माथिका १०औं तल्लामा २ फेलेक्स गरी २ वटा युनिटको हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२२ को जुनसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले ५ हजार स्क्वायरफिटको क्षेत्रफलमा अपार्टमेन्टसहित हाउजिङ निर्माण गरेको छ भने बाँकी खुल्ला क्षेत्र छोडेको उनको भनाइ छ । कम्पनीले प्रतिस्क्वायरफिटको मूल्य १५ हजार रुपैयाँ तोकेको छ ।

‘घरहरू निर्माण हुँदा स्थान र दिशाले धेरै फरक पार्दछ,’ उनले भने, ‘त्यसैले स्थान र दिशाअनुसार मूल्य कायम गरेको छ ।’

कम्पनीले ५ स्क्वायरफिटदेखि १५ सय स्क्वायरफिटमा अपार्टमेन्ट निर्माण गरेको छ । सो अपार्टमेन्टमा स्क्यारफिटको आधारमा बिक्री गर्ने भएकाले बनेको हिसाबले मूल्य कायम गरेको उनको भनाइ छ ।

हालसम्म अपार्टमेन्टको ५० प्रतिशत बिक्री भइसकेको छ भने हाउजिङ ३ वटा भने बिक्री भइसकेको छ ।

त्यस्तै, कम्पनीले सो क्षेत्रमा ५ आनाको जग्गाको क्षेत्रफलमा १२ वटा आवासीय घर निर्माण गर्नेछ । उक्त घर साढे दुई तल्लाको हुने उनले बताए ।

उक्त घरहरू २५ सय स्क्वायरफिटमा निर्माण भइरहेको छ । जसमा कम्पनीले जनाएअनुसार स्क्यारफिटको आधारमा हेर्ने हो भने एउटा घरको मूल्य ३ करोड ७५ लाख रुपैयाँ पर्नेछ ।

यस्तो हुनेछ सुविधा
कम्पनीले निर्माण गरेको अपार्टमेन्टसहित हाउजिङमा विभिन्न सेवा सुविधाको व्यवस्था गरेको छ । कम्पनीले स्वीमिङ पुल, क्लवहाउसहित सौउना, जिम हल, ब्याडमिन्टन कोर्ट, सिसिक्यामरा र २४सै घण्टा पानीको व्यवस्था हुनेछ । साथै, व्यक्तिगत पार्किङको व्यवस्था, खुल्ला क्षेत्र, अन्डरग्राउण्ड तार र बालबच्चाहरूको लागि छुट्टै खेल्ने ठाउँको व्यवस्था रहेको उनले बताए ।


क्लिकमान्डु